मूर्तिकलाका लागि कामयोग्य माटोः एक परिचय

लेखकः तेजेश मान शाक्य



१ . माटोको परिभाषाः 

      माटो एक प्राकृतिक पदार्थ हो जुन विभिन्न खनिज तत्वहरुको समिश्रणबाट बनेको हुन्छ ।  पृथ्वीको चट्टान क्रमिक रुपमा जलवायुसङ्ग प्राकृतिक अवस्थामा भौतिक एवं रसायनिक प्रतिक्रिया भई लामो समयपछि कुहिएर माटो बन्दछ । जसमा चम्किला पत्थरजन्य तत्वहरु, प्राणवायुसंग धातुहरुको रसायनिक प्रतिक्रिया भएर बनेका तत्वहरु तथा जैविक तत्वहरु मिसिएका हुन्छन् ।

यिनै विभिन्न तत्वहरुको पृथ्वीको भौगोलिकता अनुसार विभिन्न अनुपातमा प्राकृतिक अवस्थामै समिश्रण हुने कारण माटोको रङ्गहरु र विशेषताहरु एकै किसिमको नभइ विभिन्न किसिमका रङ्गहरु र आ–आफ्नै विशेषताहरु भएको भेटाइन्छन् । प्रायःजसो माटोका रङ्गहरु हल्का खरानी, पहेंलो, हल्का पहेंलो, हल्का हरियो, कालो, हल्का खैरो, गाढा सुन्तला, हल्का गुलाबी र सेतो हुन्छन् साथै यी विभिन्न रङ्गका माटोका आ–आफ्नै गुण–अवगुणहरु पनि हुन्छन् ।

साधारण अवस्थामा माटो खँदिलो एवं कडा हुने भएतापनि सजिलै फुटाउन सकिन्छ र पानीसङ्ग मिसिँदा यसको भौतिक गुणमा परिवर्तन आई नरम तथा मलिनो हुन्छ साथै पानीको मात्रा धेरै भएको अवस्थामा माटो हिलोको रुपमा पनि परिणत हुन्छ । त्यसैगरी माटोलाई आगोमा पोल्दा ढुङ्गा जस्तै अझ कडा हुन्छ र अति उच्च तापक्रममा धातु जस्तै पग्लिएर यसको भौतिक गुणमा पनि धेरै परिवर्तन आउँदछ ।

२ . माटोको वर्गिकरणः

प्राकृतिक एवं भौगोलिक रुपमा माटोलाई दुई भागमा वर्गिकरण गर्न सकिन्छ । ती हुन् — प्राथमिक माटो र माध्यमिक माटो ।

२.१. प्राथमिक माटोः

यस प्रकारको माटो एक विशुद्ध माटो अथवा मूल माटो हुन् जसमा धातुको मात्रा अति न्यून हुनुका साथै जैविक तत्वहरु पनि मिसिएका हुँदैनन् । यस वर्गमा पर्ने माटोहरु Feldspar Rock कोे प्रारम्भिक चरणको प्राकृतिक अवस्थामा कुहिने प्रक्रियाबाट बन्दछ । यस्ता Feldspar Rock मा Quartz तथा Mica जस्ता खनिज तत्वहरुको मिश्रण हुन्छन् । उक्त चट्टान पानी तथा Carbonic Acidकोे संसर्गबाट कुहिन थाल्छ जुन प्रक्रियामा पानीद्वारा Potashलाई पखालिन्छ र बाँकी बचेको Silica र Alumina पानीसङ्ग मिसिएर विशुद्ध माटो अथवा प्रारम्भिक चरणको मूल माटो बन्दछ । यस्ता प्राथमिक माटोको रङ्ग सेतो हुन्छ जसलाई Kaolin वा China Clayकोे नामबाट चिनिन्छ ।

  भौगोलिक रुपमा प्राथमिक माटो हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा भेटाइन्छ । यस प्रकारको विशुद्ध माटोको खुम्चिने गुण (Plasticity) कम हुन्छ जसकारण यस्ता माटो पानीसङ्ग घुल्दा यसको आयतन धेरै बढ्दैन र पानीको वाष्पिकरण पछि सुक्ने अवस्थामा संकुचनको मात्रा पनि कम हुन्छ । साथै आगोमा पोल्दा यसले उच्च तापमान पनि थेग्न सक्दछ जसकारण यस्तो माटो पग्लिएर आकारमा परिवर्तन आउँदैन । तसर्थ यस्तो माटो सेरामिक कला तथा वस्तुहरुका लागि बढी उपयोग हुन्छन् ।

२.२. माध्यमिक माटोः

विशुद्ध माटो अथवा मूल माटोमा प्राकृतिक अवस्थामै भौगोलिकता अनुसार विभिन्न धातुहरुका Oxide तथा जैविक तत्वहरु मिसिएर यस प्रकारको माटो बनेका हुन्छन् । विशुद्ध माटोलाई मूल चट्टानबाट पानीको भेलद्वारा हिम–नदी हँुदै तल्लो भू–भागमा बगाएर लगी अरु विभिन्न चरणहरुको प्राकृतिक अवस्थामा लामो समयपछि कुहिने प्रक्रियाबाट बन्दछ । यसरी विभिन्न धातुहरुको Oxide तथा जैविक तत्वहरु मिसिएर बन्ने भएकोले माध्यमिक माटोहरु विभिन्न रङ्गहरुमा विभिन्न विशेषताहरु सहित भेटाइन्छ । 

 उदाहरणका लागि नेपालमा सजिलै उपलब्ध हुने रातो माटो, पहेंलो माटो, हल्का पहेंलो माटो,  कालो माटो, हल्का हरियो माटो र हल्का पहेंलो पाङ्गो माटो माध्यमिक माटोको वर्गमा पर्दछ साथै यिनीहरुको रङ्गहरु र विशेषताहरुमा विविधता हुनाका कारण यी माटोहरुमा पाइने विभिन्न धातुहरुको Oxide तथा जैविक तत्वहरुको समिश्रणको मात्रा फरक–फरक हुनु हो । जस्तै रातो माटो गाढा सुन्तला रङ्गको हुनाका कारण त्यसमा मिसिएका] Iron-Oxide र जैविक तत्वहरुको मात्रा अधिकत्तम हुनु हो साथै यसमा Potassium, Magnesium / Calcium जस्ता खनिज तत्वहरु पनि हुन्छन् । त्यस्तै कालो माटोमा Iron-Oxide को मात्रा भन्दा जैविक तत्वहरु उच्च मात्रामा हुन्छन् र धेरै गहिराइमा हुने कारण माटो मलिनो हुनाका साथै कालो देखिन्छ । त्यसैगरी माटो पहेंलो हुनाका कारण त्यसमा मिसिएको Iron-Oxide पानीसङ्ग प्राकृतिक अवस्थामै जलयोजन (Hydration) भइ गहिराइमा पुग्दा खेरी प्राणवायुको कमी भइ भौतिक एवं रसायनिक प्रतिक्रिया हुँदा फलामको खिइने क्षमतामा ह्रास आउँछ र रङ्ग फिका भइ पहेंलो हुन्छ ।

 यस प्रकारको माटोको खुम्चिने गुण (Plasticity) प्राथमिक माटोको तुलनामा धेरै  हुन्छ र यस वर्गभित्र पर्ने विभिन्न रङ्गहरुमा विभिन्न विशेषताहरु सहितको माटोहरुमा पनि खुम्चिने गुण (Plasticity) एकैनासको हुँदैन जसकारण यस्ता माटोहरु पानीसङ्ग घुल्दा यसको आयतन पनि कुनैको धेरै त कुनैको थारै बढ्छ र पानीको वाष्पिकरण पछि सुक्ने अवस्थामा संकुचनको मात्रा पनि त्यसै अनुसार कुनैको धेरै त कुनैको थारै हुन्छ । त्यस्तै यस वर्गको माटोहरु पनि आगोमा पोल्दा कुनैको उच्च तापमान थेग्न सक्ने गुण हुन्छ भने कुनैको उच्च तापमान थेग्न नसक्ने गुण हुन्छ जसकारण यस्तो माटो पग्लिएर आकारमा परिवर्तन आउँदछ । 

        माध्यमिक माटोहरु पृथ्वीमा जहाँ पनि प्राथमिक माटोको तुलनामा धेरै परिमाणमा सरल रुपमा उपलब्ध हुन्छन् । भौगोलिक रुपमा यस्ता माटोहरु मध्य पहाडी, समतल तथा समुन्द्रतटीय क्षेत्रहरुमा भेटाइन्छ । तसर्थ ढुङ्गे युग देखि नै मानिसहरुले माटोका वस्तुहरु बनाइ शुरु गरेको हस्तशिल्पलाई आजको उत्तर–आधुनिक कालमा पनि यस्तो माटोहरु मृण्मय कला तथा वस्तुहरुका लागि उपयोग गरिरहेका छन् । साथै मूर्तिकला विधामा पनि मूर्ति रचनाका लागि यस प्रकारका माटोहरु प्राचिन काल देखि आजसम्म प्रयोग भइरहेका छन् । 

सन्दर्भ ग्रन्थः
Gale, John, Teach Yourself Pottery
श्रेष्ठ, गोपाल कलाप्रेमी, माटो एक कला र व्यवसाय

Popular Posts