बौद्ध विहारको परम्परा

लेखक स्व. पं. हेमराज शाक्य

श्री शिवदेव संस्कारित ऊँकुलि श्री रुद्रवर्ण महाविहार

      बुद्ध धर्म सम्बन्धी जति पनि नेपालमा धर्मकर्म, रीतिरिवाज, संस्कृति प्रवाह भई अघि बढिरहेको छ, चलिरहेको छ, आदर अनि गौरवताका साथ मानी आइरहेको पाइन्छ। तिनीहरु सबैको आधारस्तम्भ, मूलकारण, उत्पत्ति एवं स्थानले हाम्रो बौद्ध विहारहरुको पृष्ठभूमिलाई देखाइ रहनेछ।

      यसो भन्नाले नेपालको बौद्ध संस्किति, रीतिरिवाजको वर्णन इतिहास शुरु गर्नु भन्दा अघि सर्वप्रथम यहाँका बौद्ध विहार कहिले देखि उत्पत्ति भयो, निर्माण भयो, प्रतिष्ठा भयो भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ। तसर्थ यही सन्दर्भमा अनुपम विशाल बौद्ध संस्कृति समाहित भइराखेको बौद्ध विहारको केही कुराहरु प्रसंगवश यहाँ प्रस्तुत गर्दैछु।
      नेपाल प्रतिष्ठाता श्रीस्वयम्भूको ज्योतिरुप दर्शन, पूजन, चिन्तन गर्न प्रागैतिहासिक काल देखि अनेक बुद्ध, बोधिसत्व, सिद्ध विद्याधर, आचार्य एवं भिक्षु आदि ज्ञानी, गुणी, पंडित तथा अनेक श्रद्धालु दानपतिहरुको आगमन भए। कत्ति त यस पवित्र पुण्यभूमि नेपालको शान्त वातावरण अनुभव गरी यतै बास बसे।
      स्वयम्भू ज्योतिरुप दर्शनका निम्ति प्रकट हुनु भएका क्रकुछन्द तथागतद्वारा आफ्ना शिष्यहरु गुणध्वज ब्राम्हण, अभयनन्द क्षेत्री आदि सात सय शिष्यहरुलाई चुडाकर्म गर्नका लागि वाकद्वार सिफुचो पर्वतमा गई चुडाकर्म गरी सर्वप्रथम बौद्ध संघको व्यवस्था गरी विहार निर्माण गरेको देखिन्छ। त्यसपछि काश्यप तथागतको पर्यायमा गुणाकर भिक्षुको संविधानत्वमा विहार निर्माण गरिएको गुँ विहार हो। त्यही विहारमा काश्यप तथागतको वचनमा अनुप्रेरित भई नेपाल आएका राजा प्रचण्डदेवलाई गुणाकर भिक्षुद्वारा चुडाकर्म गरी शान्तिश्री भिक्षु बनाइदिए। यही शान्तिश्री भिक्षु श्रीस्वयम्भू ज्योतिरुपको प्रभावले शान्तिकराचार्य भए। त्यसपछि शाक्यमुनि तथागतद्वारा श्रीस्वयम्भू महाचैत्य दर्शनार्थ स्वयम्भू गोपुच्छाग्र पर्वतमा विराजमान भई मैत्री बोधिसत्वको अनुरोधमा श्रीस्वयम्भू ज्योतिरुपको उत्पत्ति र विकासक्रमको गुण वर्णन व्याख्या गरिदाँ ताकाको धर्मचक्र महाविहार पनि यही स्वयम्भू पर्वत स्थानमा रहेको छ। पछि आएर सम्राट अशोक आफ्ना गुरु उपगुप्त भिक्षु संगै श्रीस्वयम्भू महाचैत्यको दर्शनका लागि आउनु हुँदा उनका सुपुत्री चारुमतीद्वारा चारुमती विहार निर्माण गरे। त्यस्तै श्रीस्वयम्भू महाचैत्यको दर्शनका लागि सिद्ध नागार्जुन, आचार्य वसुवन्धु तथा शान्तरक्षित आदि आई विहार निर्माण गरेर गए। एवं प्रकारले रतिशर्मा ब्राम्हणले पनि कति हो समय पहिले किण्डोल स्थित किमाण्डोल विहार बनाएर गएका थिए।
      यसरी नै विभिन्न समयमा र समर्थवान् ख्याति प्राप्त विद्वान् आचार्यहरु तथा अरु बौद्ध धर्म प्रति अगाढ श्रद्धाभक्ति राख्ने राजा महाराजा तथा दानपतिहरुद्वारा पनि विहार निर्माण गरेर गएका कुरामा इतिहास साक्षी छ।
      जस्तै कि लिच्छवि राजा वृषदेव आफु शान्तिशील भिक्षु भई आफ्नो कुशल नेतृत्वमा श्रीस्वयम्भू महाचैत्यको पूर्ण रुपमा जीर्णोद्धार गरी स्वयम्भू पर्वत स्थित श्रीसाम्हेंगु महाविहार बनाइदिए। साथै बौद्धपुरी बन्देग्राममा बन्देजुहरुका लागि विहार निर्माण गरी बन्देपुर (बदेगां) भन्ने नाम प्रसिद्ध गराइदिए। त्यस्तै राजा शंकरदेवले जयश्री मिश्रको अनुरोधमा श्रीमयूरवर्ण महाविहार निर्माण गराइदिए। एवंक्रमले राजा धर्मदेवले राजविहार निर्माण गरी धर्मचैत्य स्थापना गरे। मानदेव राजाले मानबिहार बनाएर गए। साथै स्वयम्भू स्थित गुँविहारमा तपस्या पनि गरे। परमोपासिका मृगिनीले गन्धकुटी विहारको जीर्णोद्धार गरे। साथै चातुर्विशमहायानिक आर्यापन्न भिक्षुणी संघलाई गुठी पनि राखिदिए। त्यस्तै अंशुवर्माले राजविहार निर्माण गरी आफ्ना सुपुत्री भृकुटीलाई बौद्ध मूर्ति दाईजो राखी सँदेशका राजा श्रङचेनग्याल्पोसंग विवाह गराइ पठाइदिए। त्यस्तै राजा नरेन्द्रदेवले आचार्य वन्धुदत्तलाई उपहार स्वरुप राजकृति महाविहार (तेबाहाः) बनाइदिए। यस्तै किसिमले राजा देवलदेवले देवपाल विहार बनाएर गए। राजा चम्पादेवले फूटोविहार बनाई त्यहाँ चैत्य स्थापना गराए भने राजा बालार्चनदेवले पनि ज्येष्टवर्ण महाविहार बनाएर गए। जसका नामबाट आजसम्म पनि मतयाः उत्सव संचालन गर्दै आइरहेको छ। शिवदेव राजाले शिवदेव विहार (उकुबाहाः) बनाएर गए। भाष्करदेव राजाले हिरण्यवर्ण महाविहार (क्वाःबाहाः) बनाए। यही विहार स्थित बुद्ध मूर्ति पिङ्गला रानीले बनाएर गएका बत्तीसपुतली काहाद्वसंमा अवस्थित पिम्बाहाःको प्राचीन मूर्ति हो। एवंक्रममा राजा गुणकामदेवले पद्मचक्र विहार, रत्नाकर महाविहार (हःबाहाः) तथा गुणलक्ष्मी वर्माले पनि धुम्बाहाः निर्माण गराएर गए। राजा इन्द्रदेवले कच्छपालगिरी महाविहार (चोबाहाः) तथा जयमनोहर महाविहार (सुबाहाः) बनाएर गए। एवं तवरले राजा महाराजाहरुले मात्रै बुद्ध धर्म सेवा गरी विहार निर्माण गराएर गएका होइन कि अपितु विद्वान आचार्यहरुले पनि त्यत्ति नै श्रद्धाभक्ति राखी विहारहरु निर्माण गराएर गएका छन्।
      उदाहरणका लागि यो भन्न सकिन्छ कि रतिशर्मा ब्राम्हणले किण्डोल विहार बनाए। सुनयश्री मिश्रजुले यम्पि महाविहार (ईबही) बनाए। महापण्डित गौतमश्री शाक्यभिक्षुले सप्तपुर महाविहार बनाए। यस्तै वहाँ कै प्रधान शिष्य विद्वान् क्षान्तिश्रीले पद्मोच्च श्रीमहाविहार निर्माण गरेर गए। एवंप्रकारले बौद्धाचार्य अभयराज शाक्यजुले महाबोधिमण्डप (महाबुद्ध मन्दिर) बनाए। त्यस्तै शाश्वतबज्र आचार्यजुले त्रिरत्न महाविहार बनाई टुंडिखेलमा बज्रवीर महाकालको स्थापना गराए। मञ्जुबज्र (जामन गुरुजु)ले मणिसिंह महाविहार (मुसुंबाहाः) बनाए तथा लीलाबज्रजुले मन्त्रसिद्धि महाविहार (सबलबाहाः) बनाए भने आचार्य सुरतबज्रजुले पनि सुरतश्री महाविहार (तछेबाहाः) स्थापना गराएको थियो।
      उपर्युक्त बौद्ध विहारहरुको प्राचीन संस्कृति, रीतिरिवाज, व्यवस्था अध्ययन गरी हेरियो भने यो स्पष्ट रुपले भन्न सकिन्छ कि आजभोलि पूजा र गुठी, रितिथिति संचालन मात्र स्थान नभई बौद्ध धर्म, बौद्ध संस्कृति, बौद्ध कला र दर्शन आदिको शिक्षा दीक्षा प्रदान गरिने संसारिक गृहस्थी जञ्जालले मुक्त गरी परमशान्तको सम्बोधिको मार्गभित्र लगिने बौद्ध शिक्षा दीक्षा दिइने बौद्ध स्कूलको प्रतिनिधित्व गरी आइएको पवित्र भूमि हो।
      सारांशमा भन्ने हो भने बौद्ध विहारको संस्थापना हुनुको मूल उद्देश्य यही हो कि बौद्ध जनजीवन तथा सत्वार्थ हित, सुख, शान्तिका लागि सम्यक रुपले शिक्षा दीक्षा दिई आचार विचार सुधार गर्दै परन्तु आदि मध्येमा अन्तमा परिपूर्ण तथा परिशुद्ध बुद्धशासन उत्तरोत्तर बृद्धि गरी लैजाने विशुद्ध भूमिको रुपमा श्रद्धा राखी आइएको पुण्य क्षेत्र हो।
      यस प्रकारका आदर्शमय विहारहरु विनयादि शील भ्रष्ट भई शिक्षा दीक्षा नभएर संघहरुको बीचमा सदभावना कम हुँदै गई परस्परमा एकता, सहयोग, सहानुभूति नपुगी, धर्मकर्म क्षीण भई, दीनहीन हुँदै गएर, आ-आफ्नो विहारको वास्तविक नाम पनि थाहा नपाउँदै गए। साथै यी विहारहरुको समय-समयमा संरक्षण पनि गर्न नसकी आज कतिपय विहारहरु जीर्ण भई नष्ट-भ्रष्ट हुँदै गए भने कतिपय अहिलेसम्म पनि विद्यमान भइरहेको पाईन्छ। यी अस्तित्वमा रहेका बाहाः बहीहरु पनि अहिलेको स्थितिमा केही दशक पछि इतिश्री हुने सम्भावना देखिन्छ।
यहाँको परम्परा अनुसार विचार गर्ने हो भने विहार तीन प्रकारका हुन्छन् –
१)      सामान्य विहार (शाखा विहार)
२)      मध्यमक विहार (बही)
३)      महाविहार (मूल विहार)
पृथक जनजीवन छाडी बौद्ध संस्कार अनुसार दशकर्म साक्षात्कार गरी, त्रिशरण शिक्षापद ग्रहण गरी, पंचशील पालन गरी पूर्ण रुपमा बौद्ध उपासक उपासिका भइसकेका कुलपुत्र तथा कुलपुत्रीहरु मात्र बस्ने स्थानलाई समान्य विहार वा शाखा विहार (कचा विहार) भनिन्छ।
गृहस्थी जीवन त्यागी बौद्ध उपासक तथा उपासिकाको शिक्षापद भन्दा माथिल्लो तहका अर्थात् बुद्ध धर्म अध्ययन-अध्यापन गरी पूर्ण रुपमा ब्रम्हचर्य भिक्षु हुनेहरुका लागि मात्र निर्देशन गरिराखेको स्थानलाई मध्यमक विहार (बही) भनिन्छ।
ब्रम्हचर्य भिक्षु भई बुद्ध धर्म अध्ययन-अध्यापन गरी ग्रन्थधूर पछि अलग भई पूर्ण रुपमा विनयानुसार उपसम्पदालाभि भिक्षुहरु मात्र बसी विपश्यनाधूरे अभ्यास गर्नेहरु बस्ने आवासीय स्थान आर्यवासलाई महाविहार वा मूल विहार (मूबाहाः) भनिन्छ। यहीं दिनको चार प्रहर धर्मगण्डी बजाई विहारको दिनचर्या बमोजिम धर्म सन्देश सुनाउने कार्य भइरहन्छ। यसरी धर्मगण्डी बजाउने चलन सामान्य विहार तथा मध्यमक विहारमा छैन।
समान्य विहार वा शाखा विहार (कचा बाहाः)लाई छोडी मध्यमक विहार (बही) तथा महाविहार वा मूल विहार (मूबाहाः) मा मात्र चूडाकर्म गर्ने चलन रहेको पाइन्छ। चूडाकर्म गरिसकेकाहरुको बौध्द विहार सर्वसंघलाई बौद्ध इतिहासमा पाँच प्रकारको नाम उल्लेख गरेको पाइन्छ।
१)      बौद्ध संघ
२)      भिक्षु संघ
३)      जिन संघ
४)      आर्य संघ
५)      श्रावक संघ
यही बौद्ध संघलाई परम्परानुसार पाँच किसिमले श्रेणी विभक्त गरी राखिएको देखिन्छ।
१)      बज्राचार्य (गुरुभाजु)
२)      शाक्यभिक्षु (बन्देजु)
३)      श्रामणेर (श्रामणी बन्देजु)
४)      ब्रम्हचर्यभिक्षु (विक्खु बन्देजु)
५)      चैलकभिक्षु (चिबाहाः बन्दे)
यही विहारका बासिन्दा सर्वसंघहरु सर्वप्रथम त्रिशरण शिक्षापद ग्रहण गरी क्रमशः उपासक देखि पदबृद्धि हुँदै ब्रम्हचर्यभिक्षु, शाक्यभिक्षु, बज्राचार्य हुनेहरु चूडाकर्म गर्ने, दीक्षा लिने, चालीस जवान आजुहरुको रोलक्रम (पिइम्ह चाकः आजु) भित्र प्रवेश गर्ने, भलिं लुयेगु, बेताजु जुयेगु, नायः लुयेगु, थपाजु जुयेगु अर्थात चक्रेश्वर पदधारण गर्ने तथा थपा त्वयेगु आदि कर्म गर्ने कार्य हुन्छन्।  
यही विहारको क्वाचपाल देवता भगवान् बुद्धको सामुन्ने नित्य कर्मको रुपमा आर्यनामसंगीति पाठ गर्ने, नित्यपूजा गर्ने, धर्मगण्डी बजाउने तथा बेलुकी स्तोत्र वाचन गर्ने कार्य हुन्छ। अनि वार्षिक पर्वको रुपमा बुसाधँ गर्ने, पाठ गर्ने, धर्म देशना गर्ने, ब्रत उपासनादि धारणी पाठ गर्ने, पूर्णिमा सेवा, गुँला सेवा, कार्त्तिक सेवा, अष्टमी सेवा, दशमी पूजा, चतुर्दशी सेवा, औंसी पूजा, आगँ पूजा संचालन भइरहन्छ।

       बुद्ध धर्म सम्बन्धी यस्ता महत्वपूर्ण र गहन विषयका क्रियाकलाप समयसमयमा सम्पन्न भइरहने यही बौद्ध विहारको पृष्ठभूमिले बताइरहेको देखिन्छ। जस्तै कि सम्राट प्रियदर्शी अशोकको शिलालेखले भारतीय इतिहास र बौद्ध धर्मको महत्वमा जुन स्पष्टता ल्याइदियो, त्यही स्पष्टता हाम्रो नेपालको इतिहास र बौद्ध धर्मको महत्वमा हाम्रो बाहाः, बहीले ल्याइदिन सक्छ। त्यति मात्रै हैन अझ हाम्रो बाहाः, बहीको गर्भमा इतिहास मात्र होइन संस्कृति र सभ्यता पनि गर्भित भइरहेको पाइन्छ। फेरि यो पनि भन्न सकिन्छ कि अन्य बौद्ध देशहरुमा झैं नेपालको बाहाः बहीहरुमा केवल श्रावक अर्थात् भिक्षुचर्यामा मात्र सिमित नभई महायानचर्या, बोधिसत्वकृया, तथा तन्त्रबज्रयानको रहस्यमय कर्मक्रिया पनि संचालन भइरहन्छ। यसै कारणले गर्दा यहाँका बौद्ध विहारको क्वाचपाल देवता भगवान् बुद्धको ठीक माथिल्लो तल्लामा आँग स्थापना गरिआइएको देखिन्छ। यही नै नेपालको बुद्ध धर्मको इतिहासमा आफ्नो छुट्टै विशेषता हो, देन हो, गौरव हो। 

स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-१ बाट प्रस्तुत गरिएको।

निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति

व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति 

अनुवादकः तेजेश मान शाक्य

छवीचित्रः शिशिर रत्न शाक्य

 प्रकाशक






रुद्रवर्ण महाविहार, ओकुबहाल, 
ललितपुर महानगरपालिका - ६ 
प्रदेश ३, नेपाल। 
फोन नं. ५५४८९६१  

© सर्वाधिकार प्रकाशकमा सुरक्षित 

अनलाईन ब्लग प्रकाशन सहयोग






Popular Posts