विश्वविख्यात प्रभाववादी कलाकार डेगाद्वारा सिर्जित "चौध वर्षीय सानी नर्तकी"

तेजेश मान शाक्य




            फ्राँसको राजधानी पारिमा अवस्थित म्युजे डोख्से अर्थात् पेरिसको डोर्से संग्रहालयमा स्थायी प्रदर्शनीमा राखिएको यस काँस्य मूर्ति १९औं शताब्दीको उत्तरार्ध तथा २०औं शताब्दीको प्रारम्भका फ्राँसेली मूर्तिकार एडग्यार डेगाद्वार सिर्जित मैनको मूर्तिको प्रतिकृति हो। मौलिक रुपमा बनाइएको मैनको मूर्ति सन् १८८१मा सम्पन्न ६औं प्रभाववादी कला प्रदर्शनीमा पहिलो पटक प्रस्तुत गरिएको थियो। जसलाई प्रभाववादी कलाकार डेगाले सन् १८७८मा फ्राँसको राजधानीमा रहेको पारि ओपरा बाले अर्थात् पेरिस ओपेरा ब्यालेका छात्रा तथा नर्तकी मारी जनभिएभ भन गेथेमलाई बाना अर्थात् मोडेलको रुपमा मूर्ति बनाउन शुरु गरेका थिए। सो मूर्ति त्यो बेलाको निम्न वर्गका फोहोरी कामदारको पृष्ठभूमिमा रहेका गरीब तर सुन्दर फ्राँसेली तरूनी तथा नर्तकीहरुको वास्तविक जीवनलाई उजागर गर्ने आधुनिक विषयवस्तुमा बनाइएको थियो। ९८.९ से.मी. ऊचाई ३५.२ से.मी. लम्बाई ३४.७ से.मी. चौडाई को आयतनमा रहेको सो मूर्ति काष्ठको आधार माथि रंग मिश्रित माहुरीको मैन, माटो, धातुको आर्मेचर, डोरी, तुलिका, मानव केश, रेशम र लिननको रिबन, सुती कपडाको फायल बाडस, सुती र रेशमको टुटु र लिननको जुत्ताको मिश्रित माध्यममा बनाइएको थियो, जुन अहिले संयुक्त राज्य अमेरीकाको वासिङ्टङ्ग डि.सि.मा अवस्थित नेशनल ग्यालरी अफ आर्टमा स्थायी प्रदर्शन गरी राखिएको छ। म्युजे डोख्सेमा सिसाको शोकेसभित्र प्रदर्शनीमा रहेको काँस्यमा ढालिएको चौध वर्षीय सानी नर्तकीको प्रतिकृति मूर्ति भने काष्ठको आधार बाहेक ऊचाई ९८ से.मी. लम्बाई ३५.२ से.मी. र चौडाई २४.५ से.मी. रहेको छ। करीब सन् १९२१ र १९३१को बिचतिर लस्ट व्याक्स कास्टिङ्ग मेथड, पटिना र रेशमको मिश्रित माध्यमबाट सो प्रतिकृति बनाइएको थियो। विभिन्न श्रोतहरु अनुसार सन् १९१७ मा मूर्तिकार डेगाको देहान्त पछि उक्त चौध वर्षीय सानी नर्तकीको प्रतिकृति मूर्तिहरु पेरिस ब्रोञ्ज फाउण्ड्रीले आधिकारिक रुपमा ३०वटा बनाएको भन्ने भनाई छ जसमध्ये २८ वटा प्रतिकृति मूर्तिहरु काँस्यमा ढालिएको थियो भने २ वटा प्रतिकृति मूर्तिहरु प्लास्टर अफ पेरिसमा ढालिएको थियो। हाल ती सबै प्रतिकृति मूर्तिहरु विश्वका प्रमुख संग्रहालयहरु तथा निजी संग्रहकर्ताहरुसंग रहेका छन्।

           सानी नर्तकीको मूर्ति एकदम दर्दनाक र गहिरो अनुभूति भएको कला हो जसमा चौध वर्षकी सानी केटीले कठिन मुद्राको बाबजुद पनि शारीरिक र मनोवैज्ञानिक रुपमा आफ्नो गरिमाका लागि संघर्ष गरिरहेकी छिन्। उक्त मूर्तिमा उनी ब्याले नृत्यको कठिन मुद्रामा प्रस्तुत गरिएकी छिन्। खैरो पटिना गरिएको उनको टाउको अग्लो रहेको छ जहाँ घाँटीलाई तन्काएर टाउकोलाई हल्का माथितिर फर्काइएको अवस्थामा छ। अर्धउन्मिलन नयनहरु, चुच्चो नाक, सलक्क परेका गालाहरु, मसिनो ओठ अनि सानो गोलो चिउँडो जसले उनको निर्दोष मुहारलाई झल्काउँदछ। आँखीभौँ माथि निधार छोपिने गरी तल झरेका हल्का निलो र कालो केश, जसलाई पछाडिपट्टी बाटिएको र रेशमको गुलाबी रिबनले केश बाँधिएको छ। उनको कुमदेखि मुनि कम्मरसम्म क्रिम पटिना सहितको बाडस अर्थात् चोली पहिरिएकी छिन् भने कम्मरदेखि तल तिघ्रासम्म तीन तहको रेशमको जालिदार गुलाबी टुले टुटु अर्थात् जामा पहिरिएकी छिन् । नृत्य प्रस्तुत गरिरहेकै मुद्रामा उनका पाखुरा र हातहरू जोडिएको अवस्थामा असहज रूपमा उनको पछाडि छन् जसलाई मुहारमा जस्तै छालाको रङ्ग देखाउन खैरो पटिना गरिएको छ। त्यस्तै उनको दायाँ खुट्टा अगाडिपट्टि राखी पैतालालाई कठिन मुद्रामा दायाँतिर मोडिएकी छिन् भने बायाँ खुट्टा स्वभाविक रुपमा सिधा राखी आफ्नो सम्पूर्ण शरीरलाई सन्तुलन गरिराखेकी अवस्थामा छिन्। खैरो पटिना गरिएको टाईट हाई स्टकिङगस् अर्थात् कस्सिएको लामो पातलो मोजा र ब्याले नृत्यको लागि प्रयोग हुने स्लिपर्ज अर्थात् जुत्ता खुट्टामा पहिरिएकी छिन् । एउटा चारपाटे काष्ठको आधारमाथि उनी ब्याले नृत्याङ्गनाको रुपमा आफूलाई यहाँ स्वभाविक रुपमा प्रस्तुत गरेकी छिन् । 

            अघि नै यहाँ जानकारी गराइसके अनुसार मूर्तिकार एडग्यार डेगाले प्रभाववादी शैलीमा माहुरीको प्राकृतिक मैनमा अन्य विविध वास्तविक सामाग्रीहरुको प्रयोग गरी रचना गरिएको मूर्तिको प्रतिकृति मूर्तिको अर्थात् पेरिसको डोर्से संग्रहालयमा स्थायी प्रदर्शनीमा राखिएको कास्यँ प्रतिकृति मूर्तिको बारेमा समीक्षा गरिरहेका छौं । यस प्रतिकृति मूर्तिको प्राविधिक पक्षको बारेमा कुरा गर्नु पर्दा सो मूर्ति फ्राँसको पारि ब्रोंज फोन्ड्री अर्थात् पेरिस ब्रोञ्ज फाउण्ड्रीमा लस्ट व्याक्स कास्टिङ्ग मेथडबाट कास्यँमा ढालिएको थियो। लस्ट व्याक्स कास्टिङ्ग मेथडलाई फ्राँसेली भाषामा सियख पेर्दु भनिन्छ भने नेपालको मौलिक नेपाल भाषामा सि ल्ह्वका धाले यायेगु पहः अर्थात् नेपालीमा मैन ओकलेर ढाल्ने विधि भनिन्छ जुन विधिबाट कुनै पनि मूर्ति सर्वप्रथम मैनमा बनाईन्छ र उक्त मैनको मूर्तिलाई उच्च तापमान बहन गर्न सक्ने माटो वा प्लाष्टर अफ पेरिसको प्रयोग गरी साँचो बनाइन्छ। त्यसपछि तयार भएको साँचोलाई करीब ४०० देखि ६०० डिग्री सेल्सियससम्मको तापक्रममा पोलेपछि उक्त साँचोभित्रको मैन पूर्ण रुपमा हराएर मूर्तिको छाप सहित खाली ठाउँ बनेको हुन्छ, जसमा करीब ९५० डिग्री सेल्सियस तापक्रममा पगालिएको ८५% तामा तथा १५% राङ मिश्रित कास्यँ खन्याएर ढालिन्छ। त्यसरी खन्याएको तरल काँस्य सेलाइसके पछि माटो वा प्लाष्टर अफ पेरिसको साँचो फुटाइन्छ र मैनमा पहिले जुन मूर्ति बनाइएको हो सोही मूर्तिको प्रतिरुप काँस्यमा परिणत हुन्छ। त्यसै गरी यस काँस्य मूर्तिमा ढालिसके पछि खैरो, निलो-कालो र क्रिम पटिना गरिएको छ। काँस्यमा कपर-सल्फेट, सोडियम-क्लोराइड, पोटासियम-पोलिसल्फाइड र पानीको समिश्रणद्वारा खैरो पटिना निकालिन्छ भने कपर-सल्फेट, कपर-एसेटेट, अमोनियम-क्लोराइड र एसेटिक-एसिडको समिश्रणद्वारा कालोमा हलका आकाशे निलो पटिना निकालिन्छ। त्यस्तै एमोनियम-क्लोराइड, एमोनिया, कपर-कारबोनेट र पानीको समिश्रणबाट क्रिम पटिना निकालिन्छ। नेपालमा पटिना गर्ने कार्यलाई एन्टिक गर्ने वा अक्सिडेशन गर्ने कार्यका रुपमा बोलिचालिमा प्रयोग गरिन्छ भने नेपाल भाषामा पुलाँ यायेगु ज्या भन्ने प्रचलन रहेको छ।         

               एडग्यार डेगाको बारेमा भन्नु पर्दा उहाँ एक मूर्तिकार मात्रै नभई कुशल चित्रकार पनि हुनु हुन्छ। कला समालोचकहरुले उनलाई प्रभाववादी कलाकारको रुपमा चिनाए तापनि डेगा आफै यसमा सहमत थिएनन्। उहाँ आफूलाई एक यथार्थवादी कलाकारका रुपमा सोच्दथे। यद्यपि उहाँ रेन्वार र मोने जस्ता प्रभाववादी कलाकारहरुको अति निकटम रहेर आफ्नो कलाकरितालाई अघि बढाएका थिए। डेगाले जति पनि आफ्ना जीवनकालमा चित्र तथा मूर्तिहरु बनाए प्रायःजसो ती ब्याले, सर्कस, वेश्यालय तथा बारहरुको दृष्यलाई समेटेर युवतीहरुको शरीरको गति सहितको भावभङ्गीमाहरु तथा तिनीहरुको दैनिकीलाई कैद गर्दथे। तिनै विषयवस्तुहरुमा आधारित भएर बनाएको अति उत्तम रचनाहरु अर्थात् मास्टरपिसहरुमध्येको चौध वर्षीय सानी नर्तकीको मूर्ति पनि एक हो, जुन मूर्तिले १९औं शताब्दीको उत्तरार्धतिरको फ्राँसेली शहरिया जीवनशैलीसंग जोडिएको ब्याले नर्तकीहरुको दैनिक जीवनको यथार्थ कथालाई अति सरल रुपमा प्रस्तुत गरेर उजागर गरिदिएको पाइन्छ। जसकारण डेगा युवतीहरूमाथि ध्यान केन्द्रित गर्ने विवादास्पद पात्र पनि बने जसलाई त्योबेलाको भिक्टोरियन समाजले विनम्रता र शालीनताका लक्ष्मणरेखा उल्लंघन गरिएको मानेका थिए। सन् १८८१मा यस मूर्तिको पहिलो पटक सार्वजनिक प्रदर्शन गरिंदा समालोचकहरुबाट उक्त सानी नर्तकीको अनुहार बाँदरको जस्तो रहेको र घृणास्पद बचनले चित्रित अनुहारको रुपमा पनि वर्णन गरिएको थियो। तथापि यो मूर्तिकला आज संसारका अति उत्तम कलाकृतिको रुपमा गणना हुन गयो र ऐतिहासिक रूपमा पनि धेरै प्रभावशाली कला बन्न पुग्यो जस्तै कि एक कला समालोचक पल द शेरीले पहिलो पटक प्रदर्शनीमा यस मूर्तिकलाको "असाधारण वास्तविकता" को लागी प्रशंसा गरे र यसलाई एक उत्कृष्ट कृति भनेका थिए।       

https://www.youtube.com/watch?v=9EIkr31RYAA

https://anchor.fm/tejesh-man-shakya/episodes/THE-ART-POST---emq4ua


सन्दर्भ ग्रन्थहरुः

Anholt, Laurence. 1996. Degas and the little dancer: a story about Edgar Degas. New York :

Barron's Educational Series, 1996. ISBN 0-8120-6583-2.

Bolton, Linda. 2003. History and Techniques of the Great Masters Degas. New Jersey : Chartwell

Books, 2003. ISBN 0-7858-1638-0.

Mattern, Joanne. 2005. Great Artists Edgar Degas. [ed.] Megan M. Gunderson, Stephanie Hedlun

Heidi M. Dahmes. Minnesota : ABDO Publishing Company, 2005. ISBN 1-59197-843-2.

Mauclair, Camille. 1945. Degas. New York : The Hyperion Press Inc., 1945.

Meyer, Susan E. 1994. First Impressions Edgar Degas. [ed.] Robert Morton. New York : Harry

N. Abrams Incorporated, 1994. ISBN 0-8109-3220-2.

www.musee-orsay.fr/en/collections/index-of-works/notice.html?no_cache=1&nnumid=961&cHash=32dbf1044d. www.musee-orsay.fr. [Online]

www.nga.gov/collection/art-object-page.110292.html. www.nga.gov. [Online]

www.thought/degas-little-dancers-4056134. www.thought.com. [Online]

 

Popular Posts