कोजाग्रत पूर्णिमाका दिन यःसिँ ठड्याउने परम्परा


परिचय

यःसिँ भनेको काठको ठाडो स्तम्भ वा खम्बा हो जुन दशैंको अन्तिम दिन असोज महिनाको शुक्ल पक्षको कोजाग्रत पूर्णिमा (कौलाथ्व पुन्हि) को दिन नेपालका आदिबासी समुदाय नेपाःमी (विशेषतः नेपाल मण्डल अर्थात् हालको काठमाडौं उपत्यकाका रैथाने) ले विभिन्न ठाउँमा ठड्याउने गर्दछन्। यःसिँ” भन्ने शब्द नेपाल भाषाबाट चलनचल्तीमा आएको हो र यो नेपालका आदिबासीहरुको संस्कृति र परम्परासंग सम्बन्धित छ। यःसिँ”को तार्किक अर्थयम–स्तम्भ” अर्थात् यम जो मृत्युका देवता हुन् र सिँ अर्थात् काठको स्तम्भ वा खम्बा भन्ने अर्थ जनाउँछ। साधारणतयाः यो काठको स्तम्भ १२ हात (करीब १६ फिट) उचाईको लामो सिधा हुन्छ जसमा रातो माटो र कमेरोले धर्का-धर्का पोतेको हुन्छ। यसको माथि टप्पोमा पित्तलको छत्र हुन्छ भने उक्त छत्रमा ध्वजावस्त्र पनि बाँधिएको हुन्छ। साथै यस स्तम्भको मध्य भागमा काठको चौकसभित्र पोलेको माटोको भाँडो, पूर्व दिशातर्फ मुख फर्काइएको अवस्थामा, त्यसभित्र पोलेको माटो वा पित्तलको आलुमत (आलु जस्तो आकारको तेल बत्ती) राखिएको हुन्छ।

किन ठड्याइन्छ यःसिँ ?

यःसिँ ठड्याउने संस्कारको गहिरो धार्मिक, सांस्कृतिक र प्रतिकात्मक अर्थ रहेको छ। प्रचलित किंबदन्ती अनुसार -

१. यमलाई रोक्ने प्रतिक

दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको रात यमराज पृथ्वीमा भ्रमण गर्न आउने मान्यता छ। यःसिँलाई यम पृथ्वीमा नआओस् भनी रोक्न प्रतिकको रूपमा ठड्याइन्छ।

२. आकाश र पृथ्वी बीचको सम्बन्धको प्रतिक

यःसिँको ठाडो स्तम्भले आकाशमा रहेका देवताहरु र पृथ्वीमा रहेका मानवहरु बीच सम्पर्क गराउने माध्यमको प्रतिकको रुपमा पनि जनाउँदछ। 

३. सनागुथिका गुथि सदस्यहरुको भेला र उत्सव

यस दिन नेपाल मण्डलका स्थानिय रैथानेहरु बिहान मिर्मिरे उज्यालोमै टोलका विभिन्न सनागुथिका गुथि सदस्यहरु सामूहिक भेला भई यःसिँ थनेगु” अर्थात् “स्तम्भ उठाउने वा ठड्याउने” कार्य गर्दछन् र आजकै दिनबाट सूर्योदय हुनु भन्दा अगावै “कात्तीसेवा” पर्व अर्थात् स्वयम्भू र चोभाःको हरेक बिहान नियमित दर्शन र पूजा-प्रार्थना गर्न भक्तहरु जाने पर्व थालनी हुन्छ जुन कार्तिक माहिनाको शुक्ल पक्षको पूर्णिमा (कछलाथ्व पुन्हि) सम्म आजको दिन ठड्याइको यःसिँ आ-आफ्नो गुथि सदस्यहरुकै सामूहिक भेलामा ढालेर पर्व समापन गरिन्छ, जसलाई “यःसिँ क्वःथयेगु” भनेर नेपाल भाषामा भनिन्छ।

यहाँ माथि नै उल्लेख गरिसके अनुसारको माध्यमहरु प्रयोग भएको र स्वरुप रहेको यःसिँ टोलको लाछी अथवा चोकमा भेला भई पूर्व दिशा फर्काई ठड्याइसके पछि सनागुथिका सबैभन्दा जेष्ठ गुथि सदस्यद्वारा जल, अक्षता, टीका, नैवद्य, फूल, फल, धूप र दियो चढाई पूजा सम्पन्न गरिन्छ। यहि दिन देखि सूर्यास्त भई चन्द्रोदयको बेला सबैभन्दा जेष्ठ गुथि सदस्य बाटै रात्री पूजा शुरु गरी उमेरको क्रम अनुसार प्रत्येक साँझ कार्तिक पूर्णिमासम्म एक महिना नियमित रात्री पूजा गर्ने गरिन्छ। यस रात्री पूजामा आलुमत बाल्ने चलन पनि रहेको छ, जसमा गहुँको छ्वालीको मुठा बनाई तोरीको तेलले भिजाएर प्रत्येक रात पूजा पछि दियो बाल्ने गरिन्छ। यसपछि समुदायलाई हलमली बाँडेर हर्षोलास गरिन्छ। उक्त हलमलीमा मुख्यतः भुटेको मकै, भटमास, बकुला, बदाम, निम्की आदि मिसाएर खाने चलन रहेको छ।

एक महिनापछि कार्तिक पूर्णिमाको बिहानै मिर्मिरे उज्यालोमा ठड्याइएको यःसिँ ढालिसकेपछि “कात्तीसेवा” पर्व पनि समापन हुन्छ। उक्त दिन राती समुदाय मिलेर स्वयम्भू र चोभाःमा भव्य भोज सम्पन्न गरिन्छ भने हलमलीको मण्डल बनाई स्तुतिगान र पूजा सम्पन्न गरी हर्षोलास गरिन्छ।

यहाँ उल्लेख गरिएको “सनागुथि” भनेको समुदायका अर्थात् गुथि सदस्यहरु मध्ये कोहि कसैको देहवसान हुँदा अन्त्येष्टीका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने गुथिलाई जनाउँदछ। यसर्थ पनि यःसिँ ठड्याउने परम्परालाई यमलाई पृथ्वीमा आउनबाट रोक्ने प्रतिकका रुपमा चलेको किंबदन्ती सबैभन्दा सान्दर्भिक देखिन्छ। कसै-कसैले यःसिँलाई इन्द्रध्वज वा यमध्वज भनेर भन्ने चलन पनि रहेको छ।

पाठकवृन्दलाई अनुरोधः यस लेखका केहि सन्दर्भ प्रमाणिक आधार भन्दा पनि जनश्रुतिलाई आधार लिएर लेखिएको हुँदा विमति उत्पन्न हुन सक्दछ।


Popular Posts