शिवदेव विहार उकुबाहाःको परिचर्चा
लेखक स्व. पं. हेमराज शाक्य
प्राचीन लिच्छविकाल देखि परम्परागत रुपमा आश्रित
कमलको फूल झैं पल्लवित, पुष्पित अनि विकसित हुँदै आइरहेको बौद्ध धर्म
अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसार हुन सकेको मूल कारण अधिकत्तम लोक आस्था अनि
प्रतिष्ठा अभिबृद्धि भई जरा गाड्न सकेकोले गर्दा नै हो। इतिहासलाई केलाउने हो भने बौद्ध
धर्मले जगतमा बलियो जरा गाड्न सक्नुको कारणलाई मूलतः चार भागमा विभक्त गर्न
सकिन्छ।
क) बुद्धोपदेशित त्रिपिटकको ८४,००० धर्मस्कन्धको
प्रचार हुनु।
ख) बौद्ध संघको स्थापना हुनु।
ग) बौद्ध विहारको संस्थापन तथा बौद्ध विहारका लागि
आवश्यक सम्पदाको निर्माण कार्य हुनु।
घ) महाकरुणा तथा सत्य शान्तिमा आधारित आदर्श एवं
व्यवहार युक्त बुद्ध शासनको स्थापना हुनु।
तथागतद्वारा आज्ञा भएको त्रिविध नवाङ्ग बुद्ध
प्रवचन अनुसार आचरण गर्ने भदन्त आयुष्मान आर्य बौद्ध संघ भिक्षु-भिक्षुणी,
उपासक-उपासिकाहरु बसी धर्माचरण गरिने पवित्र भूमिलाई विहार भनिन्छ। अर्को अर्थमा
भन्ने हो भने भगवान बुद्धहरु विराजमान भइरहेका स्थानलाई विहार भन्ने चलन छ। यही
परम्परा अनुसार विहार भनिने हुँदा ती विहारहरुमा तल व्याख्या गरिएका चार प्रकारका
कार्यहरु सम्यक रुपमा संचालन भइरहन्छ।
यस्ता पवित्र पुण्यभूमि विहार निर्माण गर्नका
लागि जति पनि लिच्छवि राजाहरुद्वारा श्रद्धा एवं आस्था राखी बुद्ध शासनको सेवा गरी
गए। ती मध्ये लिच्छवि कुलकेतु महाराज शिवदेव पनि एक महान बुद्ध भक्त हुन् भन्ने
स्पष्ट प्रमाण अभिलेख तथा इतिहासले बताई रहेको पाइन्छ। नेपालको स्वर्ण युग मानिने
लिच्छविकालमा ई.सं. ६औं शताब्दीका राजा शिवदेवले शासन गरेका हुन्। उनले जनहित एवं
सुखका लागि न्याय नीतिपूर्वक ४१ वर्ष तथा ६ महिना राज्य संचालन गरे। त्यस समय
एकदिन संसारीक भोगविलास देखि विरक्त भई राजाले आफ्नो मति चिन्तन गरे, “अहो! यस संसारीक विषय जति भोगविलास गरेपनि
कहिल्यै सन्तोष नहुने रहेछ। अतः मनुष्य जीवन सफल बनाउन केवल विषय प्रपंचमा मात्र
भुलिरहनु हुँदैन। परन्तु वास्तविक सुख शान्ति प्राप्तिका लागि, पारमार्थिक
जीवनयापनका लागि सच्चा कल्याणमित्रको सत्संगतको पनि आवश्यकता संगै सद्धर्म
बोधिज्ञानको मनन चिन्तन गर्नुपर्छ।” सौभाग्यवश त्यही समय राजा शिवदेवलाई एक प्रभावशाली सुविनीत
बौद्ध भिक्षुको सत्संग प्राप्त भयो। वहाँ बौद्ध भिक्षुको शान्ति संदेश अनि उपदेश
सुनी राजाको यस्तो शुभ मति उत्पन्न भयो कि बुद्ध धर्मको सेवाका लागि स्थायी रुपमा
विशुद्ध कीर्ति स्थापना गर्न पाए अति उत्तम हुनेछ। यसै आफ्नो शुभ मति पूर्ण गर्नका
लागि प्रतिज्ञाबद्ध भई बौद्ध भिक्षुलाई प्रार्थना गरे। अनि बौद्ध भिक्षुले यस
प्रार्थनाको आशय बुझी राजा शिवदेवलाई आज्ञा गरे, “हे राजन! बुद्ध धर्मको शासन चिरस्थायीका निम्ति
राजाहरुले पालन गर्नुपर्ने मुख्य कर्तव्य एउटा मात्रै छ। त्यो के हो भने आवश्यक
व्यवस्था मिलाई उचित स्थानमा बौद्ध विहार निर्माण गरिदिनु हो।”
यस्तो विहारमा बुद्धलाई चिनाउने धर्म शास्त्र
अध्ययन गरी सम्यक रुपले धर्माचरण गर्ने तथा वहुजनहित अनि सुखका लागि गाँउ नगर
डुलिरहने चतुर्दिशाबाट आगमन हुने भिक्षुहरु बसी धर्म प्रचार गर्ने कार्य भइरहन्छ,
जसका कारण बुद्ध शासन परन्तु सम्म पनि चिरस्थायी भइरहनेछ। यस्तो अपरिमित पुण्य
कार्यमा अग्रसर हुनु भनी बौद्ध भिक्षुद्वारा दिइएको वचन अनि निर्देशानुसार राजा
शिवदेवले योग्य स्थान चुनी शास्त्रोक्त विधिपूर्वक विहार निर्माण कार्य सुसम्पन्न
गरिदिए। यस विहारको निर्माण कार्य मंगल उत्सवपूर्वक प्रतिष्ठा कार्य सम्पन्न भएको
उपलक्ष्यमा राजाद्वारा आफ्नो नामबाट विहारको नामांकरण गरी यसलाई शिवदेव विहार
भनियो।
लिच्छवी राजा शिवदेवद्वारा स्थापित शिवदेव विहारको वर्तमान वास्तुकला (श्री रुद्रवर्ण महाविहार) |
शिवदेव विहार निर्माण भइसकेपछि यस विहारको
सुकीर्तिमय वासना दिनदिनै फैलंदै गयो। यस विहारमा आर्यभिक्षुसंघहरु बसी नियमपूर्वक
धर्माचरण हुँदै गयो। दिन प्रतिदिन धर्म सम्मुनति भएको देखेर राजा शिवदेवको बुद्ध
धर्म प्रति अझ बढी अगाढ श्रद्धा उत्पन्न हुन थाल्यो। जसरी उपगुप्त भिक्षुको
प्रेरणाबाट सम्राट अशोकद्वारा अत्यधिक बुद्ध धर्म प्रचार गरी अन्ततः आफू पनि
प्रवजित भई उपसम्पदा ग्रहण गरी भिक्षु भए भन्ने कुरा इतिहासले बताउँछ। त्यस्तै
अशोकको आदर्श अनुरुप केवल चार दिन मात्र भएपनि राजा शिवदेव आफु पनि प्रवजित हुने
प्रवल इच्छा राखी यही विहारमा चुडाकर्म गरी भिक्षु भई बुद्ध धर्ममा दीक्षित भए।
सधैंका लागि यसरी श्रावक चर्यामा रही भिक्षुको
नियम पालन गरिरहन कठिन महसुस गरी आफ्ना गुरुको आश्रम गई क्षमा याचना गरे। यसरी
शिष्यको आशय बुझी चीवर त्याग्न लगाई महायान चर्याको अनुयायी बनाइदिए। आफूले भिक्षु
चर्या त्यागी महायान चर्या ग्रहण गरिसकेपछि आफूबाट निर्माण गर्न लगाएको विहारमा
बस्ने आर्य भिक्षु संघका लागि जग्गा-जमीन प्रदान गरी आवश्यक बन्दोबस्त गरिदिए।
कालान्तरमा यस विहारमा रहेको आँगमा प्रतिष्ठित श्री योगाम्बरको सेवाभक्ति गरी जीवन
मुक्त भई गए भन्ने उल्लेख गरिएको छ।
यस प्रकार शिवदेव विहारको निरन्तर सम्मुन्नति तथा
विकास हुँदै गए। यस विहारमा आवास गरिरहेका बौद्ध भिक्षुहरुको आचार, विचार अनि
शिष्टाचार देखी सय वर्षपछिका लिच्छवि राजा नरेन्द्रदेव सम्मले पनि यस विहारको
विषयमा अति प्रशंसा गरिएको पाइन्छ। उदाहरणका लागि पाटनको यङ्गुबाहाः गल्लीस्थित
शिलापत्रमा जति पनि बौद्ध विहारहरुको नाम उल्लेख गरिएको छ, त्यस मध्ये सबैभन्दा
माथि शिवदेव विहारको नाम अंकित गरिएको पाइन्छ। यस अभिलेखमा शिवदेव विहारको विषयलाई
लिएर यसरी प्रशंसा गरिएको देखिन्छ।
शिवदेवविहारे चतुदिशार्य
भिक्षुसंघाया स्माभिरतिसृष्ट..............।
यस विहारको बौद्ध वाङ्मय विनयानुसार नियम
निष्ठापूर्वक अति नै राम्रो आचरण गरिआएको देखिन्छ। त्यसमाथि पनि चतुर्दिशाबाट आगमन
हुने अतिथि अभ्यागत आर्य भदन्त आयुष्मान् भिक्षुसंघहरु आई बास बस्नका निम्ति आदर
सत्कारको व्यवस्था उतिकै प्रशंसनीय छन्। यहाँका बौद्ध भिक्षुहरु एकसय एकको आचार
विचार सन्तोषप्रद रहेको आशय झल्किन्छ।
स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित “शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन” को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-५ बाट प्रस्तुत गरिएको।
निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः शिशिर रत्न शाक्य
प्रकाशक
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः शिशिर रत्न शाक्य
प्रकाशक