उकुबाहाः पुनःनिर्माण

लेखक स्व. पं. हेमराज शाक्य

      
    
श्री रुद्रवर्ण महाविहार, उकुबाहाः
यस प्रसिद्ध ऐतिहासिक शिवदेव विहार चार सय वर्षपछि प्राकृतिक एवं मानवीय प्रकोपद्वारा नष्ट भ्रष्ट भई भूमिसात भई दुर्दशा भइराखेको देखी नेपाल सम्वत् प्रथम शताब्दी अन्त भएताका दूरदर्शी धर्मात्मा राजा श्री रुद्रदेवद्वारा पूर्ण सहयोग गर्ने आश्वासन दिइयो।

हुनत यस समय ज्योतिषहरुको भनाई अनुसार कुनै न कुनै प्रकारका उत्पात विघ्न हुन्छ भन्ने विचार राखेका थिए। कारण के हो भने नेपाल सम्वत् शुरु हुनु अघि शाक्य सम्वत् ठ्याक्कै ८०० अर्थात अष्टम् दशा लाग्छ भन्ने प्रजागणहरुको बीचमा अनेक प्रकारको शंकाउपशंका उब्जिराखेको थियो। उदाहरणका लागि यो भन्न सकिन्छ कि ने.सं. ८८८ सालमा मल्ल शासन अन्त भई शाहकाल शुभारम्भ भयो। यसरी तीनवटा ८ अंक क्रमबद्ध मिल्न गएकाले हो कि तीनवटै शहर पृथ्वी नारायण शाहको हातमा सुम्पिनु पर्यो। यस प्रकारले अष्टम् दशा लाग्छ भन्ने चलन आजको यस वैज्ञानिक युगमा पनि नभएको होइन। जस्तै कि वि.सं. २०१८ सालमा पनि अति अशुभ भनी त्यसताका उपत्यकाका मुख्य देवदेवीहरुको मन्दिरहरुमा शान्ति स्वस्तिका निम्ति कति धर्मकर्म गरेका थिए।

यस्तै नै धारणा त्यस समय राजा रुद्रदेव भन्दा अघिका धर्मभीरु प्रजागणहरुमा हुने स्वभाविक पनि हो। यस्तो अवस्थामा ठूलाठूला पुण्यकार्य, शुभकार्य, धार्मिक कार्य गर्ने गराउने अति उत्तम भएकोले गर्दा यस सन्दर्भमा क्षतिग्रस्त अवस्थामा रहेको यस शिवदेव विहार सुधार एवं उद्धारको निम्ति राजा रुद्रदेवले उक्त दयनीय अवस्था देखी भित्री मनबाट सम्वेदना उत्पन्न भई पूर्णरुपमा जीर्णोद्धार गरिदिने बचन सहित सहानुभूति प्रकट गरी विद्वान आचार्यहरुको सरसल्लाह अनुसार शास्त्रीय प्रमाण अनुसार विहारमा हुनुपर्ने वास्तुशास्त्रको आधारमा अनेक लक्षण व्यञ्जन सहित विधिवत मंगल उत्सव कार्य प्रतिष्ठा सुसम्पन्न गरिएको हो।

श्रद्धालु दानपति राजा रुद्रदेवद्वारा शिवदेव राजाको आदर्शलाई अनुशरण गरी बौद्ध चरित्रानुसार बौद्ध विधिबाटै यसै विहारमा चूडाकर्म गरी कर्म प्राप्त गरी क्रमशः बौद्ध शिक्षा दीक्षा पनि प्राप्त गरी यस विहारको सेवा गरी अन्ततः जीवन मुक्त भएको भन्ने कथन छ।

वंशावलीमा यस्तो भनिएको छ कि राजा रुद्रदेव बौद्ध भिक्षु भइसकेपछि नेपालको बौद्ध संस्कृतिको मर्यादा अनुसार कोही पनि श्रद्धालु दानपतिहरुले कुनै पनि ठाउँमा सम्यक, नराँ, पञ्जराँ आयोजना गरियो भने उक्त सम्यक समारोहमा आफू नगइकन आफ्नो प्रतिनिधिको रुपमा सम्येद्यः दीपंकरको मूर्ति निर्माण गराई सबैभन्दा पछि दान लिन पठाइने गरिन्थ्यो। यही व्यवस्था अनुरुप आफ्नो विहारको दीपंकर बुद्ध मूर्ति फूपाःजुइका अर्थात समारोह सकिने बेला दान लिन गएको हुँदा फुकदेव (फूद्यः) भन्ने नामबाट प्रख्यात भयो। आजको अद्यापि यस परम्परा अनुसार यल देशमा अर्थात पाटनमा पञ्जराँ हुँदा खेरी दत्त दान लिन जाँदा सबैभन्दा पछि फूद्यः गई दान लिन जाने चलन रहेको छ।

यस विहारका निम्ति राजा रुद्रदेवले अर्को पनि एउटा नयाँ चलन बनाई गएका थिए कि शिवदेव संस्कारित श्री रुद्रवर्म महाविहार उकुबाहाःको बौद्ध संघ शाक्य भिक्षुहरु परम्परागत राजवंश भएको नाताले पछिल्ला सन्तानहरुलाई राजावंशको सन्तानहरुले देश नरेश अनि प्रजाको हितसुखका निम्ति कुनै पनि आफ्नो इच्छानुसार रोजगार गरी जीवनोपार्जनका लागि कुनै पनि कार्य गरी खानु हुँदैन भन्ला भन्ने हेतु भविष्यका लागि विचार गरी नयाँ नियम बनाए। उक्त नियम के हो भने राजा रुद्रदेवको आफ्नो पुर्खा
क. बामदेव
ख. नन्ददेव
ग. शिवदेव
घ. मानदेव
ङ. नरसिंहदेव
च. नन्ददेव
छ. रुद्रदेव (आफै)

यी सात पुस्ताको प्रतिनिधि अनुसार ठूठूला सातवटा यःमरी बनाई प्रतिवर्ष मार्गशुक्ल चतुर्दशीको दिन विधिवत पूजा गरी ६ वटा यःमरी राजदरबारमा पठाउनु पर्ने नियम बनाई दिए। यसको अर्थ हो यस विहारका राजवंशी शाक्य भिक्षुहरुले जनहितका लागि कुनै पनि इलम गरी जीवनवृत्ति चलाई खानु हुन्छ भन्ने किसिमले राजा रुद्रदेवद्वारा आफ्नो आदेश अनि निर्देशन दिइएको प्रमाण हो। यस नियमलाई सम्झिने हो भने उकुबाहाःको सर्वसंघद्वारा यःमरी पूर्णिमाका अघिल्ला दिन ब्यपामरी गुथिचलाई आईरहको पाइन्छ। तर दुःखको कुरा यो छ कि यस गुथिका निम्ति राखी आएको अक्षयकोष स्वरुप जग्गा जमिनको आयस्ता भूमिसुधारको नयाँ व्यवस्थाका कारण प्राप्त नहुनाले यो गुथि केही दशक अगाडि बन्द भएको छ।


स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-८ बाट प्रस्तुत गरिएको।

निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति

व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति 

अनुवादकः तेजेश मान शाक्य

छवीचित्रः शिशिर रत्न शाक्य

 प्रकाशक






रुद्रवर्ण महाविहार, ओकुबहाल, 
ललितपुर महानगरपालिका - ६ 
प्रदेश ३, नेपाल। 
फोन नं. ५५४८९६१  

© सर्वाधिकार प्रकाशकमा सुरक्षित 

अनलाईन ब्लग प्रकाशन सहयोग




Popular Posts