उकुबाहाः शब्दको अर्थ
लेखक स्व. पं. हेमराज शाक्य
पाटनको विभिन्न
विहारहरु मध्ये यो एक प्रमुख विहार हो। यस विहारको नाम संक्षिप्तिकरण भई उकुबाहाः
अर्थात उबाहाः भन्ने प्रचलन बस्यो। हुनत उपत्यका भित्र रहेका प्रायः बौद्ध विहारको
नाम दुइता चलेको देखिन्छ एउटा संस्कृत भाषामा लेखिएको हुन्छ त अर्को स्थानिय
जनभाषा नेपाल भाषामा पनि लेख्ने प्रचलन पनि नभएको होइन। अब कुरा आउँछ उकुबाहाःको
पूरा नाम के हो?
शिवदेव
संस्कारित ओकुलि
श्रीरुद्रवर्ण
महाविहार
उकुबाहाः
यी नामबाट नै
उकुबाहाःको पूर्व इतिहासको प्रारुप दर्शाइरहेको पाईन्छ। शिवदेव संस्कारित भन्ने
वाक्य माथि राखिएको छ, त्यसको मुनि ओकुलि छ भने त्यो भन्दा मुनि रुद्रवर्ण विहार
भनि राखिएको छ। शिवदेव संस्कारितको अर्थ हो सर्वप्रथम शिवदेवले बनाएको। यस मुनिको
ओकुलि शब्दको अर्थ हो, थकुरी र मल्लकालको सभ्य संस्कृति अनुसार दिशा निर्धारण
गर्ने परिपाटी अनुसार पाटनको मध्य मानि राखेको माणिगलभट्टको राजप्रसाद पाटनको
दरवार (मंगलबजार) हो। यस दरवारको अगाडि–पछाडि, दायाँ–बाँयालाई लिई दिशा निर्धारण गरी राखेको देखिन्छ। यसको प्रमाण पुराना
तालपत्र, नीलपत्र, कागजपत्र, तमसुक एवं
शिलापत्रमा वन्तागृह, यन्तागृह आदि लेखिएको पाइन्छ। जस्तै कि –
पूर्व दिशा – वता
दक्षिण दिशा – यता
पश्चिम दिशा – येता
उत्तर दिशा – यन्ता
पूर्व दक्षिण कुना – वकुलि
दक्षिण पश्चिम
कुना – यकुलि
पश्चिम उत्तर
कुना – येकुलि
उत्तर पूर्व कुना – यंकुलि
यस प्रमाणको
आधारमा विचार गर्दा खेरी पाटन दरवार मंगलबजारबाट पूर्व दक्षिण कुनामा अवस्थित भएको
हुँदा यस ठाँउलाई वकुलि भनि आएको हो। यस वकुलि भन्ने शब्द परिवर्तन हुँदै वर्तमान
अवस्थामा अपभ्रंश भई “उकु” भयो। जस्तै उदाहरणका लागि पंचसूत्रका (पंचसूत्र धागो)लाई पसूका, व्रतसूत्रका (व्रतसूत्र धागो)लाई वःका, हाथ्वक्वन
देवताको हाथुद्यो अथवा हाखांद्यो भने जस्तै अपभ्रंश भएको हो। उदाहरण–
ओकुलि – ॐकुलि – वकुलि – उकुलि = उकु ।
पछि यसलाई श्री
रुद्रवर्म महाविहार भन्न थालियो। राजा रुद्रदेवद्वारा पुनःनिर्माण गरिदिएका हुनाल रुद्रवर्म भन्ने नाम थप भयो। अनि यस विहार सामान्य विहार (कचाबाहाः) मध्यम विहार
(बही) मात्र नभई मूल विहारको रुपमा परिणत भएको कारण महाविहार भन्ने प्रचलन शुरु
भयो।
एउटा कुरा
वर्तमान बौद्ध समाजमा धेरैको धारणा यस्तो छ कि विहारको नाममा “वर्म” शब्दलाई “वर्ण” भन्ने परम्परा
जस्तै भयो। तर खासमा जति पनि विहारको नाममा वर्ण शब्द प्रयोग गरी आइएको छ, प्राप्त
ऐतिहासिक अभिलेखको प्रमाण अनुसार वर्म नै हुनु पर्ने हो। किनकी जति पनि विहार
शब्दमा वर्ण अंकित भएका ती विहारहरुको पृष्ठभूमि विचार गरि हेरियो भने वर्म
जातिद्वारा संस्कार गरिएको अर्थात निर्माण गरिएको पाइन्छ। तसर्थ यस प्रमाण अनुसार
रुद्रवर्ण विहार होइन कि निसन्देह रुद्रवर्म हो। यस कुराको अर्को प्रमाणिक आधार
प्राचीन तालपत्रको अभिलेखबाट पनि स्पष्ट पारेको देखिन्छ। उदाहरणका लागि उकुबाहाःको
मूल आँगमा सुरक्षित रहेको तालपत्र अनि तमसुकमा यसरी उल्लेख गरिएको पाईन्छ। -
ने.सं. २३५ वंकुलिविहारसंघ
ने.सं. २३९ श्रीललितद्रमायां श्रीशिवदेव संस्कारित श्री रुद्रवर्म
महाविहार वासिन शाक्यभिक्षु रत्नभद्रस्य
ने.सं. २५१ श्री मल्ललितपुर श्रीवङकुटोलके श्री रुद्रवर्म महाविरार्यसर्व
संघ भट्टारकानां
ने.सं. २६१ श्रीललितक्रमायां श्रीशिवदेव
संस्कारित श्री रुद्रवर्म महाविहारार्य संघ भट्टारकानां
ने.सं. २७३ श्रीललितक्रमायां श्रीवंकुटोल्के
श्रीसिवदेव संस्कारित श्रीरुद्रवर्म महाविहारार्यसंघ भट्टारकानां
ने.सं. २८९ श्रीललितक्रमायां वंकुटोल्के
श्रीरुद्रवर्म महाविरार्यसर्व संघ भट्टारकानां
ने.सं. २९४ श्रीललितक्रमायां श्रीवंकुटोल्के
श्रीरुद्रवर्म महाविहार शाक्यभिक्षु दानभद्र
ने.सं. २९६ श्रीललितक्रमायां श्रीरुद्रवर्म
महाविहाराधिवासिन श्रीकरभद्र
ने.सं. ३०४ श्रीललितक्रमायां श्रीत्यंग्वल्के
श्री शिवदेव संस्कारित मणिजीव महाविराधिवासितः आर्य शाक्यभिक्षु सर्वसंघानां
ने.सं. ३०६ श्रीललितक्रमायां श्रीनोग्वल्के
श्रीरुद्रवर्म महाविहारार्य भिक्षु सर्वसंघानां
ने.सं. ३०९ श्रीललितक्रमायां श्रीनोगलके
श्रीरुद्रवर्म महाविहार शाक्यभिक्षु स्थविर अमतभद्र ने.सं. ४८१ श्रीनोगलके दक्षिणस्थ श्रीरौद्रवर्म
महाविहार दानपति भिक्षु श्रीमलाभद्र
यस प्रकारले एउटा विहारको नाममा तीनवटा घटनालाई सम्झाईदिने किसिमले
कुनै पनि विहारको नाम प्रचारमा आएको देखिएको छैन। यसरी एउटा विहारको लागि तीनवटा
नाम समावेश गराइराखेको अहिलेसम्मके विहारहरु मध्ये यो विहार सर्वप्रथम हुन आउँछ।
निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
प्रकाशक
स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित “शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन” को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-६ बाट प्रस्तुत गरिएको।
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
प्रकाशक