उकुबाहाः जीर्णोद्धार परिचर्चाः

लेखक स्व. पं. हेमराज शाक्य

      
    
श्री रुद्रवर्ण महाविहार, उकुबाहाः
नेपालको स्वर्णयुग लिच्छविकालमा राजा शिवदेवद्वारा स्थापना गरी गएको उकुबाहाःको त्यस ताकाको आचार विचारद्वारा परिशुद्ध भएका भिक्षुहरु बास बसेको बुद्ध शासनाकुल धर्माचरण भइरहेको धेरै भन्दा धेरै दुर्लभ रहेका दर्शनीय बौद्ध सम्पदा सुरक्षित भइरहेको यस ठाउँमा समयसमयमा राजाहरुद्वारा सम्मानपूर्वक सहयोग प्रदान गरी आइरहेको साथै लोकजनहरुको आस्था र प्रतिष्ठा पनि त्यति नै भइरहेको स्वनामधन्य भनी विभिन्न इतिहास तथा वंशावलीमा उल्लेखित भइरहेको भएतापनि करीब चार शताब्दी पछि यस विहार समय परिस्थितिले गर्दा क्रमशः यहाँका कीर्तिस्थिति, आचार विचार ह्रास हुँदै नष्टभ्रष्ट भयो, धराशायी समेत भइगयो, केवल अवशेष मात्र बाँकी रहेको अवस्था भयो । यस ताका मल्लकालको प्रारम्भिक युगमा थकुरी राजा श्री रुद्रदेवद्वारा यस विहारलाई पूर्ण रुपमा निर्माण गर्ने शुभ संकल्प गरी सम्पूर्ण कलेवर परिवर्तन गरी पुनः निर्माणको रुपमा प्रतिष्ठापित गरिदिइएको हो ।
यस शिवदेव विहार उकुबाहाः पूर्णरुपमा परिवर्तन गरी राजा रुद्रदेवद्वारा आफ्नो नेतृत्वमा कुशल आचार्यहरुको निर्देशन अनुसार वास्तुकला विधि अनुरुप विधिवत यस विहार प्रतिष्ठा भएपछि राजा रुद्रदेवले यस विहारको नाम आफ्नो ढंगबाट नामांकरण गरिदिएको थियो । जस्तै कि राजा रुद्रदेवले राम्रोसित विचार गरी सर्वप्रथम विहार बनाइदिएका दानपति राजा शिवदेवको पनि गुण स्मरण गरी यस ठाउँको प्रतिष्ठा सम्झने हिसाबमा साथै आफ्नो पनि नाम जोडी यसरी नाम जुराइएको हो ।
शिवदेव संस्कारित ओकुलि श्री रुद्रवर्ण महाविहार। यसको संक्षिप्तिकरण हो उकुबाहाः, जुन नामबाट प्रसिद्ध गराइदिएको हो ।
यस रुद्रवर्ण महाविहार निर्माण गराइसकेपछि ३०० सय वर्ष पश्चात प्राकृतिक तथा मानवीय प्रकोपका कारण समय परिस्थितिवश जीर्ण हुँदै गए । यही सन्दर्भमा स्थानिय श्रद्धालु दाताहरुद्वारा पुण्यलाभ कामना गर्दै समयसमयमा यस विहार जीर्णोद्धार हुँदै आइरहेको देखिन्छ । कारण यस विहारमा रहेका कीर्तिस्थितिवस्तु १०० वर्ष, २०० वर्ष, ३०० वर्ष, ४०० वर्ष पछि क्रमशः यहाँका वास्तुकला, मूर्तिकला नयाँ नयाँ शैली अनुसार बनाइ आइरहेकोले यस कुराको पुष्टि गरेको प्रमाण देखिन्छ । जस्तै कि उदाहरणका लागि यस विहारमा सजाइराखेका वास्तुकलालाई लिएर अध्ययन गर्दा खेरी यस्तो आशय बुझिन्छ कि
१३औं शताब्दीका बेजोर काष्ठकला, मूर्तिकला यक्षनीको ६ थान तुँडाल बिलँपौ सहित शोभाबृद्धि गरिएको छ । यस तुडाँल विहारको अगाडि पट्टिको लङको छानामा अड्याइराखिएको छ । यस बिलँपौको काष्ठकलाको कार्यशैली अति नै प्रशंसनिय रहेको छ । यस मूर्तिको तालमान सन्तुलन तथा लक्षण प्रमाण मिलाई स्वभाविकता दर्शाइएको पाइन्छ । हुन त यस मूर्ति एक न एक विभिन्न मुद्रा अंकित रुपमा कामुकभाव प्रदर्शित गरी देखाइएको छ । साथसाथै यसमा केशविन्यास शैली पनि उत्तिकै मोहित छ । सायद यस कलापूर्ण भावभंगी मिलाई राखिएको यस प्रकारका उच्चकोटी कलात्मक भावपूर्ण रहेको उपत्यकाको जति पनि विहार तथा मन्दिरका तुँडालहरुसंग तुलना गर्न सक्दैन झैं लाग्छ । यस मूर्तिकलालाई हेरी विभिन्न कलाविद्, कलापारखी अनि पर्यटकहरु मुग्ध भई जाने गर्दछन् । यो त भयो रुद्रदेव पछि प्रथम जीर्णोद्धारको स्वरुप ।
यस पछि दोस्रो जीर्णोद्धारको प्रमाण हो, क्वाःपाःद्यःको मूल विहारको दाँया बाँया रहेको तुँडालमा कुँदिएका मूर्ति पूजादेवी तथा मातृशिशु ममता सहितको यो १५औं शताब्दीको हो । यस समसामयिक ताकाको काष्ठकला नासः दिगीको गाःझ्याःको मुनि रहेको लिबि झल्लर हो । यसमा द्वाःछिना बनाइएको यस लिबिको आफ्नै विशेषता हो । त्यस्तै यहाँको पुष्पविमान झ्यालको रुपमा बनाइएको एकमुखी झ्याल, त्रिखा झ्याल १५औं शताब्दीको उदाहरण हो भन्न सकिन्छ ।
अब आउँछ तेस्रो पटक भएको जीर्णोद्धारको काष्ठकलाको उदाहरण क्वाःपाःद्यको माथिल्लो पट्टि रहेको मूल आँगको पंचमहाबुद्ध अंकित बिलँपौको तुँडाल हो । हुन त यस तुँडालको मुनि साल र मिति सहित अलिेख अंकित गरी राखिएको पाइन्छ । जुन यस प्रकार छन् 
१) महावैरोचन        ने.सं. ७७३ हृदयसिङद्वारा राखिएको
२) महाअक्ष्योभ्य      ने.सं. ७७३ पद्मराजनद्वारा राखिएको
३) महारत्नसम्भव     ने.सं. ७७३ रत्नपालद्वारा राखिएको
४) महाअमिताभ       ने.सं. ७७३ हेदायसिङद्वारा राखिएको
५) महाअमोघसिद्ध     ने.सं. ७७३ जयरत्नद्वारा राखिएको
६) महाबज्रसत्व       ने.सं. ७७३ जीवजुद्वारा राखिएको

यस बिलँपौको माथि रहेको वास्तुको सम्पूर्ण भागको काष्ठकलाको शैली विचार गर्दाखेरी १७औं शताब्दीको हो भन्ने विश्वास गर्न सकिन्छ ।

स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-११ बाट प्रस्तुत गरिएको।

निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति

व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति 

अनुवादकः तेजेश मान शाक्य

छवीचित्रः शिशिर रत्न शाक्य

 प्रकाशक






रुद्रवर्ण महाविहार, ओकुबहाल, 
ललितपुर महानगरपालिका - ६ 
प्रदेश ३, नेपाल। 
फोन नं. ५५४८९६१  

© सर्वाधिकार प्रकाशकमा सुरक्षित 

अनलाईन ब्लग प्रकाशन सहयोग