उकुबाहाःको वर्तमान स्वरुप

लेखक स्व. पं. हेमराज शाक्य

      
श्री रुद्रवर्ण महाविहार, उकुबाहाः
    
नेपालको उपत्यका मध्ये पुरानो चक्राकार रुपमा सिद्ध भइरहेको उद्योग प्रधान अति प्रसिद्ध ललितपुर महानगर यल (पाटन) देश हो। यहाँ यलम्ब ललितक्रम ललितपुर नामले सम्बोधन गरी आइरहेको छ। हुनतः यस यल देशको बीचमा मंगल बजारको दरवारलाई लिएर केन्द्रविन्दु मानि आइरहेको छ। यसै मंगलबजार दरबारको ठीक पूर्व दक्षिणको बीचमा रहेको अग्निकोणतिर रहेको उकुबाहाः हो। यस विहार विश्वविख्यात शिल्पकलाद्वारा परिपूर्ण भइरहेको हजारौं बुद्ध मूर्ति अंकित गरी बनाइएको बोधिमण्डप विहार महाबुद्ध मन्दिरको पनि अलि पर उकुबाहाः बहीमा परेको चतुष्कोणाकारया रुपमा परिणत भएको यसैको श्रीशोभाद्वारा विभूषित भइरहेको उत्तर अभिमुख गरिरहेको विहार हो।
यस विहारमा प्रवेश गर्ने द्वारको दाँयाबाँया विशालरुप प्रस्तरको शानदार दुइवटा सिंह राखिएको छ। यसै सिंहको संगै अर्धचन्द्राकार प्रस्तरको भयाङ्गमा टेक्दै जानुपर्ने ढलौटको शेरमुकुण्डो र गोलाकार चक्का राखी बनाइएको लौह खापा रहेको प्रस्तरको चौकोस राखी बनाइएको भव्य द्वार निरन्तर आगन्तुकहरुका लागि खुला हृदयले खोली स्वागत गरिआइरहेको पाइन्छ। यसको दाँया बाँया गणेशकुमार पनि छन्।
उकुबाहाः भित्र प्रवेश गर्ने मूल द्वार पछिको चोक अर्थात् खण्डचुक विहार
यहाँको द्वारबाट भित्र प्रवेश गर्ने वित्तिकै खण्ड चुक भन्ने गथिचा देख्न पाइन्छ। यसै खण्डचुकलाई पहिले राजा रुद्रदेवद्वारा आफ्ना प्रजाहरुलाई दर्शनभेट प्रदान गर्ने न्यायशाला भनेर पनि भनिन्छ। यस चुकको दाँयाबाँया लोकनाथ तथा बुद्धको मन्दिर पनि रहेको छ। त्यसपछि यहाँ खण्डचुक नाघ्ना साथ उकुबाहाः छिर्ने प्रस्तरको भयाङ्ग अगाडि आइ पुग्दछ। यसै प्रस्तर भयाङ्गको दाँयाबाँया पृथ्वी सृष्टि रुप देखाइएको कछुवाको माथि गज बसिरहेको छ। यी गजको माथि सिंह रहेको छ। यसै सिंहको माथि हरिहर बाहन लोकेश्वर राखिएको छ। यस मूर्तिले मौन रुपमा यो कुराको संकेत गरिराखेको देखिन्छ कि बौद्ध विहारमा प्रवेश गर्न पूर्ण मैत्री तथा बोधिचित्त करुणा प्रवेशपत्र लिई जानु पर्दछ।

      यस भयाङ्गबाट माथि उक्लिने वित्तिकै दाँया-बाँया महांकाः फलेचा र भजन फलेचा देखिन्छ। दाँयातिरको फलेचा नवआगन्तुकहरु आराम लिने तथा पर्वकालमा दाफा भजन गर्नका निम्ति र त्यस्तै बाँयातिरको फलेचामा कर्तिकपाल र खट्वाङ्ग समाइरहेका बुद्ध शासनका रक्षक स्वरुप धर्मपाल र महापाल उपस्थित गराइएको छ। यसै फलेचामा गुलाँ महिनामा बौद्ध कला प्रदर्शनीको रुपमा बहीद्यः पनि प्रदर्शित गरिएको हुन्छ। यी दुई फलेचाको बीचमा उभिई उकुबाहाःको दृष्यावलोकन गर्दा खेरी वास्तविक उकुबाहाःको स्वरुप छर्लङ्ग देखिन्छ। झ्वात्त हेर्दा नवागन्तुक पर्यटकहरुका लागि एक प्रकारले बौद्ध कला प्रदर्शनी देखाइरहेको झै सम्झन सकिन्छ। यस विहार ५५/ फुटको प्रमाणले चारपाटे छन्। यस विहारको पश्चिम, उत्तर र पूर्वको लङ्ग दुइ तल्लाका छन् भने दक्षिण लङ्ग क्वाचपाल देवता विराजमान भएको मूल विहार तीन तल्लाको छ। यस विहारको माथिल्लो छाना तथा झल्लर स्वर्ण जलप गरिएको पित्तल पाताको हो। यस छानाको ठीक माथि भगिं माथि पन्ध्रवटा लहरै सुवर्ण चैत्य राखिएको छ। त्यस्तै तलतिरको छानामा पाँचवटा सुवर्ण चैत्य पनि देखिन्छ। यी बीसवटा सुवर्ण चैत्यलाई विम्सत्याकार सम्बोधिज्ञानको प्रतीक स्वरुप सम्मानपूर्वक विहारको सर्वोपरिस्थानमा राखी श्रीशोभा बृद्धि गरी राखिएको छ।
क्वाःपाःजुको माथिल्लो पट्टी रहेको मूल आगंको माथि रहेको क्वछुपाखा राखिएको कलात्मक तुँडालको बिलँपौमा यस प्रकारका मूर्तिहरु अंकित छन्।
१) महारत्नसम्भव तथागत
२) महाअक्षोभ्य तथागत
३) महावैरोचन तथागत
४) महाअमिताभ तथागत
५) महाअमोघसिद्धि तथागत
६) महाबज्रसत्व तथागत
यस मूर्तिहरुको मुनितिर पंचरक्षा देवीहरु एक एक गरी पनि राखिएका छन्। त्यस्तै मूल आगंको माथि रहेको विहारको ठूठूला तिकिझ्यालको मुनि राखिएको छोटो लम्बाइको बीचबीचमा रहेको क्वतापौती कुँदेको मूर्तिहरु मात्रै अष्ट बोधिसत्व तथा अष्टमातृका अंकित गरिएको पाइन्छ। यसको मुनितिर राखिएको दलिन अड्याइराखेको बिलँपौती अष्ट दिगपालहरुको मूर्ति राखी सजाइ राखिएको छ।
यस किसिमले उकुबाहाःको उत्तरलङ्गको तुँडाल रहेको उत्कृष्ट मूर्तिकला अनुमानित १३औं शताब्दीको उत्तरार्द्ध समयको तालमान सन्तुलन हुने गरी अर्द्धसमपद आसनमा उभिइ अभिनय गरी राखेका सुन्दरी मूर्तिहरुको विवरण यस प्रकार छन्
१) दाँया हात अभय मुद्रामा हो भने बाँया हातले रुखको हाँगा समाइएको शालभञ्जिका अवस्थित छ।
२) दाँया हातले फूल एउटा समाई बाँया हातले रुखको हाँगा समाइएको छ।
३) दाँया हातले रुखको हाँगा समाई बाँया हातले चरा एउटा समाइएको छ।
४) दाँया हातले रुखको हाँगा समाई बाँया हातले उफ्वस्वाँ समाइएको छ।
५) दाँया हातले आफ्नो वस्त्रको किनारा माथि पठाई बाँया हातले खस्न लागेको जस्तो आफ्नो पतासिको किनारा समाई अभिनय गरिराखेको छ।
६) दाँया हातले रुखको हाँगा समाई बाँया हातले वस्त्रको किनारा समाई अभिनय गरिराखेको छ।

करीब १३औं शताब्दी उत्तरार्द्धका शालभञ्जिका तुँडालहरु


 यस प्रकारले पंच महाबुद्ध युक्त बिलँपौको दाँया-बाँया रहेका तीन थान बिलँपौती मात्रै निम्न प्रकारले मूर्ति सजाइराखेका छन्।

१) एकजना बुढाको कुममाथि चढ्दै अर्द्धसमपद मुद्रामा दाँया हातले अभयमुद्रा र बाँया हातले रुखको हाँगा समाई शालभञ्जिकाको रुपमा अभिनय गरी राखिएको छ।
२) एकजना बुढाको कुममाथि कुल्चिदै अर्द्धसमपद रुपमा उभिंदै दाँया हातले अभय दिइ बाँया हातले रुखको हाँगा समाइएको छ।
३) एकजना बुढाको माथि रही अर्द्धसमपद मुद्रामा उभिइ बाँया हातले रुखको हाँगा समाइएको छ।

यस्तै पंच महाबुद्ध बिलँपौको बाँयापट्टि अर्को दुइवटा मूर्ति अंकित बिलँपौ छ । यी यस प्रकार छन्
१) आफ्ना बच्चाप्रति ममता भाव दर्शाइ दुध खुवाउन लागेको झै छातीमा बोकी रहेको                    शालभञ्जिकाको रुपमा अर्द्धसमपद मुद्रामा उभिरहेको छ। यस मूर्ति गलगण्ड                     भएका किन्हुको जीउमा उभिराखेको छ।
२) दाँया हातले वरदमुद्रा अनि बाँया हातले रुखको हाँगा समाइ शालभञ्जिकाको रुपमा उभिराखेको मूर्ति हुन्।
पुष्पविमान झ्याल रहेको दक्षिण लङ्गतिर रहेको मूल विहार
यी त भए बिलँपौको वर्णन। अब विहारको दक्षिण लङ्गतिर रहेको विहारको मुख्य क्वाःपाःजुको विषयमा कुरा शुरु हुन्छ। प्रशान्तरुप रक्तवर्ण उत्तराभिमुख शाक्यमुनि बुद्धलाई विराजमान गराइराखेको छ। यस बुद्ध मूर्तिको दाँया-बाँया कुनातिर दुईवटा द्वार छन्। एउटा द्वार यतालिबि बाहिर जाने र अर्को द्वार मूल आगंमा जाने। यस द्वारको माथि पुष्पविमानझ्यालको रुपमा त्रिखाझ्याल राखिएको छ। भगवान बुद्धको माथि मात्रै पुष्पविमानझ्यालको रुपमा पंचझ्याल राखिएको छ।
विहारको पूर्वतिर रहेको छिंडिमा तीनवटा दलान राखिएको छ भने यसको दाँया-बाँया कुनातिर द्वारहरु छन्। एउटा द्वार भन्सार भित्र छिर्नका लागि हो भने अर्को द्वार कुमारी दर्शनका लागि जाने हो। यस दलानको माथि पाँचवटा सँझ्यालहरु राखिएको पाइन्छ भने यसको दाँया-बाँया पुष्पझ्यालको रुपमा त्रिखाझ्याल राखिएको पाइन्छ।
सँझ्याल
विहारको पश्चिम लङ्गतिर पनि छिंडिमा तीनवटा दलान राखिएको पाइन्छ। यसको पनि दाँयाबाँया द्वारहरु छन्। एउटा द्वार भलिं कोठाभित्र छिर्ने हो भने अर्को द्वार अमोघपाश धर्मागार गुम्बा दर्शन गर्न जानका लागि हो। यही दलानको माथि पाँचवटा सँझ्यालहरु राखिएको पाइन्छ । यही झ्यालको दाँया-बाँया पनि पुष्पविमानझ्यालको रुपमा त्रिखाझ्याल राखिएका छन्।
एवंप्रकारले उत्तरतिर मात्र विहारभित्र बाहिर आवतजावत गर्नलाई थाँक्व (खम्बा) तीनवटा राखी त्यसको दाँया-बाँया फलेचाहरु राखिएका छन्। यो फलेचाको पनि दाँया-बाँया द्वारहरु छन्। एउटा द्वार नासँदिगी माथि जाने हो भने अर्को भण्डार कोठाभित्र छिर्ने हो। यस भजन फलेचा र महांंका फलेचामा रहेका तीनवटा थाँक्वको माथि भव्य कलात्मक क्वछुगाःझ्याल राखिएको देखिन्छ। यसको दाँया-बाँया चारैतिर एकैनासको तिखाझ्याल राखी नेपालको आफ्नो परम्परानुसार मिल्ने गरी विहारको लक्षण प्रमाण मिलाईकन शोभायमान गरिएको छ। यस विहारको चारैतिर रहेको फःको छेउछेउमा लहरै किनारा राखेझैं मिल्ने अनि सुहाँउदो तरीकाले चाकः दलुपाःहरु राखी सजाइएका छन्।
 क्वछुगाःझ्याल रहेको उत्तर लङ्गतिरको नासँदिगी

लिच्छवीकालिन अशोक चैत्य (सुन जलप गरेको ताम्रको चैत्य सहित)

बिजय ध्वजा समाइराखेका पित्तलको सिंहमूर्ति सहित प्रस्तरका ल्वँहमनि आजु, बज्रधातु, धर्मधातु र चैत्य

        यस विहारको फःमुनि चोकको भूईमा तेल ईटाले छापिएको छ। यसको पश्चिमतिर चूडाकर्म विधिका लागि सप्तपदगमन गर्न लहरै प्रस्तरको मण्डल राखिएका छन्। त्यस्तै पूर्व उत्तरको कुनातिर चूडाकर्मको लागि नै पीसकं लुइगु (स्नान गराउने) चारपाटे ढलौटको सहस्रदल पद्ममण्डल पनि राखिएको छ। उता दक्षिण पश्चिम कुनामा लोकपाल मण्डल राखिएको छ। हुन त यस विहार लिच्छवी काल देखि नै अस्तित्वमा रहेको हुँदा यहाँ क्वाचपालको अगाडि अशोक चैत्य स्थापना गरिराख्यो। यस चैत्यको गर्भगृह देखि चोलामूसम्म सुनको मोलम्बा लगाएको तामाको चैत्यले छोपिएको पाइन्छ। यस चैत्यलाई सुहाउने गरी राम्रोसित घुम्रिएको सुन मोलम्बा भएको पित्तलको खम्बा राखी किंकिनिजालले घेरिएको कुना कुनामा सुन मोलम्बायुक्त गजुरलाई फूलको आकारमा मिल्ने गरी मोतीको झुप्पा झुण्ड्याइएको झैं शोभायमान गरी यसको चारैतिर माणेहरु घुमाउन मिल्ने गरी राखिएका छन्। यसको चारै कुनाको पोल डण्डीमा अजगरले बेरिएको पाइन्छ। यस प्रकारको सुनको मोलम्बा लगाइएको पित्तलको खम्बा अथवा डण्डी राखी शोभा बृद्धि गरिराखेको चैत्य अन्यत्र विहारमा देख्न पाइदैन भन्दा अतियुक्ति नहोला। यस अशोक चैत्यको अगाडि बज्र अंकित धर्मधातु मण्डल राखिएको छ। यसै धर्मधातु मण्डलको नजिकै धातुको कलात्मक यज्ञशाला पनि राखिएको पाइन्छ। यसै यज्ञशालाको अगाडि पट्टि चारपाटे प्रस्तर एउटा राखिएको छ। यसलाई पहिले ठूलो साधनकर्म गरी सकेकाहरुको सम्झनामा सुरक्षित गरी राखिएको भनिन्छ। यसको नजिकै प्रार्थना मुद्रामा बसिरहेका प्रस्तरको ल्वहँमनि आजु उपस्थित गराइएको छ। यस ल्वँहमनि आजुको ठीक मुनि शक्तियुक्त अष्टभुज महामञ्जुश्री राखिएको पाइन्छ। यस मञ्जुश्री मूर्तिमा चन्द्रहास खड्ग तथा पुस्तक मात्र समाउन लगाइ राखेको अवस्थामा छ। यसै ल्वहँमनि आजुको सम्मुखमा प्रस्तरको खम्बा जोडी त्यसमा ठूलो खादलु एउटा पनि राखिएको छ। यसै ल्वहँमनि आजुको पछाडि लामो चारपाटे अर्को शिलास्तम्भ उभ्याइएको छ। यस शिलास्तम्भ माथि सुवर्ण जलप सहितको पित्तलको सिंहनाद गरी बिजयध्वजा समाइरहेको सिंहमूर्ति पनि राखिएको छ। यसरी बौद्ध विहारमा सिंहयुक्त शिलास्तम्भ राख्ने परम्परा अशोकको पालादेखि चलि आएको भनिन्छ। यो स्तम्भ जति सक्यो उति लामो राख्नुपर्दछ भन्ने विश्वास पाइन्छ। कारण यस स्तम्भ देखि यावत् दशदिग् पर्यन्त तथागतको उपदेश सत्य, शान्ति र महाकरुणाको सन्देश सकभर प्रचार प्रसार होस भन्ने एउटा प्रवल इच्छा हो। यही स्तम्भको पछाडिपट्टि बज्रधातु, धर्मधातु तथा चैत्य लहरै स्थापना गरी राखिएको पाइन्छ। यही चोक भित्र फलामको बारभित्र ठूलो माणे एउटा पनि आदरपूर्वक राखिएको छ। त्यस्तै धर्म सन्देश पढी सुनाइरहेका राजाको भव्य मूर्ति पनि राखिएको पाइन्छ।


प्रमुख देवता रक्तवर्ण क्वाःपाःआजु श्री शाक्यमुनि बुद्ध


यस विहारको प्रमुख देवता शान्ति नायक तथागत श्री शाक्यमुनि बुद्ध सुवर्ण सिंहासनको माथि पद्ममा शान्त गम्भीरपूर्वक बज्रासनमा भूमिस्पर्श मुद्रामा हुनु हुन्छ। यस शाक्यमुनि बुद्ध प्रातिहार्य अवस्था अन्तर्गत रक्तवर्णमा प्रस्तुत गरिएको भनिन्छ। यसको एक रहस्य छ- बुद्धको रुपकाय अनुत्तरपुण्य क्षेत्र भई श्रद्धालु भक्तजनहरुद्वारा जुन कामना गरी तिलहिल अलंकार कुशलमूलको प्रभावले पुण्यानुभावद्वारा परलौकिक जीवनमा सो भक्तजनले भोग गर्न पाइन्छ भन्ने भावनाले विभिन्न प्रकारको अलंकार प्रस्तुत गर्दै आइरहेको देखिन्छ । तसर्थ यस क्वाःपाःजुको रुखमा फल फलेको झैं लतरम्म आभूषणद्वारा विभूषित गरी अति समृद्धि शान्त देखिने गरी प्रस्तुत गरियो। यस ठूलो क्वाःपाःजुको ठीक मुनि सानो क्वाःपाःजु पनि राखिएको छ। यसलाई बुद्धपुत्र राहुलभद्र भनी भावना गरी आएको पाइन्छ।
यसै बुद्धको स्वागत सम्मानमा अति नै सुन्दरतापूर्वक कलात्मक धातुको द्वार तथा खापा राखिएको छ। त्यसलाई सुहाउने गरी नागपाश पनि राखिएको छ। यस कलात्मक द्वारको दाँया-बाँया धातुको शिलायकु अनि पिण्डपात्र धारण गरिरहेका शालीपुत्र र मौद्गल्यायण भिक्षुहरु तथा वीणाराज, ध्वजराज, गंगा, जमुना, नागकन्या एवं सप्ताश्व सप्तहंस बाहन, दिन अनि रातका साक्षी चन्द्र सूर्य आदि बुद्धको स्वागतका निम्ति राखिएका छन्। त्यस्तै यसै द्वारको दाँया-बाँया भित्तामा अड्याइ निम्न लिखित धातुका मूर्तिहरु सजाइ राखेका छन्
१) स्थानक मुद्रामा धर्मचक्र मञ्जुश्री
२) स्थानक मुद्रामा वरद मुद्रा सहितको पद्मपाणी लोकेश्वर
३) स्थानक मुद्रा तथा धर्मचक्र मुद्रामा समन्तभद्र बोधिसत्व
४) स्थानक मुद्रामा बज्रघण्ट समाइरहेका बज्रपाणी बोधिसत्व
५) रत्न समाएका रत्नपाणि बोधिसत्व
६) विश्वबज्र धारण गरेका विश्वपाणी बोधिसत्व
७) पुस्तक अवलोकन गरिराखेका महाराज शुद्धोदन
८) शालभञ्जिकाको रुपमा स्थानक मुद्रामा मायादेवी


सुनको मोलम्बा सहितको तोरण

यही बोधिसत्वहरुको अगाडि पट्टिको भयाङ्ग दाँया-बाँया पूर्णकलशयुक्त गजको माथि सिंहमा आसिन सिंहनाद लोकेश्वर छन्। यसै सिंहसँग चराचुरुङ्गी र बाँदरहरु राखी फूलको लहरै झुप्पा सहित सुन्दर तोरणाकार कर्म बनाएर राखिएको छ। यी सबै ढलौटको बनाइराखेका हुन्। यस द्वारको दाँया-बाँया रहेको लुखाबाहाः तथा द्वारको माथि कलात्मक भव्य तोरण सुन जलप गरी राखिएको छ । यस द्वारको मुनि माङ्गलिक सूचकका रुपमा अष्टमङ्गल चिन्ह अंकित पूर्णकलश राखी सुन्दर तवरले बनाइराखेको पाइन्छ ।

गन्धकुटी बाहिरका कलाकृतिहरु
अझ यस विहारको शोभाका निम्ति विभिन्न भावनाका प्रतिकका रुपमा बुद्ध वन विहार गरेका समयमा बुद्ध दर्शनका निम्ति आइरहेका पशु जीवनबाट मुक्त हुनका लागि बुद्धको शरणमा आएका लौकिक अलौकिक जन्तुहरुको प्रतिनिधित्व गराइ राखेको देखिन्छ ।

१) दुईतिर उभिएका दुइवटा सिंह
२) दुईतिर बसिरहेका दुइवटा गज
३) दुइतिर उभिरहेका दुइवटा उडन घोडा
४) दुइतिर उभिरहेका दुइवटा उडन सिंह
५) बसिरहेका उठ्न लागेको झैं गरिरहेका दुइवटा शेर
६) प्रदक्षिणा गर्नलाई आशा गरिरहेका अजगर
७) प्रार्थना गरिरहेका अजगर
८) पखेटा फैलाइरहेका मयूर
९) पखेटा फैलाइ प्रार्थना गरिरहेका गरुड
१०) सन्देश अभिव्यक्त गरी उभिरहेका राजाको भव्य प्रतिमा
११) देश र प्रजाको सुव्यवस्थाका लागि कहिल्यै अन्याय नहोस् भन्ने हेतु राष्ट्र नायकद्वारा आफ्नो वक्तव्य सुनाइरहेको अर्थात अनुशासित भइ रहोस भन्नाका निम्ति राजर्षिको भव्य प्रतिमा ठड्याई राखिएको छ । अर्को अर्थमा यस विहारका सर्वसंघ परम्परा देखि राजवंशी हो भन्ने संस्मरण अनुसार राखिएको भनिन्छ।

ढलौटका उडन घोडा, गरुड तथा अजगर

ढलौटको शेर

ढलौटमा बनाइएको अजरामरण महाराजको सालिक
यस विहारका सम्पूर्ण मूर्तिहरु ढलौटमा ढालिएका हुन्। यसकारण एउटा यो पनि हो कि यस विहारका शाक्यवंशीहरु एक से एक विभिन्न शिल्पकलाका क्षेत्रमा प्रवीण एवं निपुण भएकाले उनीहरुको सदिच्छानुसार समय समयमा यस विहार शोभाबृद्धि गर्नाका लागि चाहिएको ठाउँमा चाहिएकै किसिमले विहारमा चढाइएका हुन्।  
स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-१३ बाट प्रस्तुत गरिएको।

निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति

व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति 

अनुवादकः तेजेश मान शाक्य

छवीचित्रः शिशिर रत्न शाक्य

कभर छवीचित्रः राजन शाक्य (डिजिटल रिटचिङ्गः सुमन शाक्य सहित)

 प्रकाशक






रुद्रवर्ण महाविहार, ओकुबहाल, 
ललितपुर महानगरपालिका - ६ 
प्रदेश ३, नेपाल। 
फोन नं. ५५४८९६१  

© सर्वाधिकार प्रकाशकमा सुरक्षित 

अनलाईन ब्लग प्रकाशन सहयोग

Popular Posts