चौथौं पटकको उकुबाहाः जीर्णोद्धारको प्रसङ्ग

लेखक स्व. पं. हेमराज शाक्य


धीर्जनृसिंह ( ग्वारा कम्पनी)द्वारा निर्माण गराईएको उकुबाहाःको मूल प्रवेशद्वार

      उकुबाहाः सर्वसंघको एकजना सदस्य कुलपुत्र उकुबाहाः गथिचा ओन्तागृह निवासी धीर्जनृसिंह शाक्य (ग्वारा कम्पनी नामले प्रसिद्ध रहेका सूचिकार)। उहाँ श्री ५ पृथ्वी वीर विक्रमका नाइके सूचिकार हुनुहुन्थ्यो। हुनत वहाँ श्री ३ चन्द्र शमशेरको पनि एक विश्वासी सूचिकार भएका नाताले ग्वारा कम्पनीजु धेरै भन्दा धेरै सम्पत्ति आर्जन गरी धनाढ्य भएका थिए। यसरी धनाढ्य भएकाले सद्धर्मचित्त उत्पत्ति गरी आफ्नो विहारको जुन जीर्णावस्था अशोभनीय भएको देखिरहन सकेनन्। फलस्वरुप ग्वारा कम्पनीजुद्वारा आवश्यक व्यवस्था गरी उकुबाहाःको सम्पूर्ण जीर्ण अंगप्रत्यंगहरुलाई सुधार एवं उद्धार गरी नवनिर्मित विहार झैं हुनेगरी आवश्यकता अनुसार राम्रोसंग बनाई जीर्णोद्धार कार्य सम्पन्न गरी दिएका थिए। यस सन्दर्भमा विहार जीर्णोद्धार कार्य शुरु गर्न अघि विवेकशील ग्वारा कम्पनीजुले सर्वप्रथम यो विचार गर्नु भएको छ कि जबसम्म विहारको दाँयाबाँया विहारको प्राङ्गणमा गृहस्थीहरु बास बसिरहन्छन् त्यस विहारमा गृहस्थीबाट हुने अनेक प्रकारका कोलाहल र विहारलाई नमिल्ने कार्यकलाप भइरहने छ भन्ने सोचले अर्थात शील विपरीत कार्य भइरहने आदि अशोभनिय वातावरणले गर्दा विहारमा गर्नुपर्ने पूजापाठ, धर्मदेशना एवं ध्यानभावनाको कार्यक्रममा बाधा अड्चन भइरहने भएकाले सर्वप्रथम यस विहारमा बास बसिरहेको गृहस्थीहरुलाई अन्त ठाँउमा बास दिलाउनका निम्ति उचित आवश्यक खर्च (मुआवजा) दिई गृहस्थीहरु हटाइ सके पश्चात मात्र विहार जीर्णोद्धार कार्य आरम्भ गरेको रहेछ। यसरी विहार मात्रै राम्रो गरिएको होइन कि अझै उकुबाःहाको श्री शोभा बृद्धि गर्नका निम्ति राजकीय छाँट एवं दरवारीया ढाँचाको फलामको प्रवेशद्वार राखी त्यस द्वारको माथि श्री ३ चन्द्र शम्शेरलाई खुशी तुल्याउनका निम्ति जसरी पाटन दरवार स्थित सुन्दरीचोक तुसाहिटि प्रवेश गर्ने मूलद्वारमा दाँयाबाँया राजा सिद्धिनरसिंह मल्लको नामको साकार रुप प्रदर्शनका लागि श्री सिद्धि गणेश, नरसिंह तथा हनुमानको मूर्ति स्थापना गरिएको हो, त्यसरी नै दूरदर्शी ग्वारा कम्पनीजुले पनि ठ्याक्कै यस्तै परम्परा अनि भावनालाई साकार रुप प्रदान गर्नको निम्ति श्री ३ चन्द्रशम्शेरलाई खुशी पार्ने आशयले आफ्नो विहारका निम्ति बनाउन दिएको उकुबाहाः प्रवेशद्वारको माथि चन्द्रको लागि चन्द्रकला, शमको लागि शम भन्ने भाला समाउन लगाई शेरको लागि शेर दुईवटा दाँया बाँया राखी उकुबाहाःको बाहिर समेत देखिने गरी शानदारपूर्वक प्रवेशद्वार बनाई उकुबाहाःको श्री शोभा बृद्धि गरिदिएका थिए।

यस प्रकारले उकुबाहाःको जीर्णोद्धार कार्य सम्पन्न भएको साथ साथै आफ्ना मालिकलाई खुशी तुल्याउनका लागि बनाइदिएको प्रवेशद्वार समेत तयार भएको उपलक्ष्यमा धर्म कार्यमा अति नै श्रद्धावान ग्वारा कम्पनीजुले विधिपूर्वक आफ्नो घरमुनि दानशाला तयार गरी नराँ, पञ्जराँ समेत आयोजना गरी राजा श्री ५ पृथ्वीवीर विक्रम तथा प्राइम मिनिष्टर श्री ३ चन्द्रशमशेर समेतलाई मर्यादापूर्वक निमन्त्रणा गरिएको थियो। स्थानिय बुढापाकाहरुले यो पनि भनिएका छन् कि आफू नाइके सुचिकार ग्वारा कम्पनीले उकुबाहाः जीर्णोद्धार गरी नराँ, पञ्जराँ समेत आयोजना गरिएको उपलक्ष्यमा राजा तथा प्रधानमन्त्री दुवैजना एउटै बग्गी रथमा बसी राजकीय छाँट अनुसार उखेर तथा च्वामरद्वारा हम्काई उकुबाहाःमा सवारी भएको थियो भनिन्छ । तात्कालिन प्राइम मिनिष्टर चन्द्रशमशेरको संस्मरणमा निर्माण भएको प्रवेशद्वारको तमाशा देखेर श्री ३ चन्द्रशमशेरद्वारा खुशी स्वरुप कति हो नगद पुरस्कार पनि बक्स भएको भनेर भनिन्छ।

      यस नराँ, पञ्जराँको उपलक्ष्यमा बनाइएको पञ्जराँद्यः श्री दीपंकरको सुवर्ण मूर्ति यल पञ्जाष्टमीको दिन आफ्नो घर मुनिको दलानमा सो मूर्ति प्रदर्शन गरी पञ्जरा दान गर्ने दत्त गुथि समेत राखिदिएका थिए।
यस प्रकारले ग्वारा कम्पनीद्वारा जीर्णोद्धार गरेपछि ७ दशकमा फेरि नुगः यच्छु टोल निवासी श्रद्धालु दानपति तेजबहादुर शाक्य, हर्षबदादुर शाक्य तथा दानबहादुर शाक्यद्वारा आफ्ना दिवंगत माता मोतीलानीको शुभप्रतिज्ञा अनुसार सबै परिवारको धर्मचित्त उत्पत्ति भई आफ्नो विहारको माथिल्लो झिङ्गती छानाको जीर्णावस्थाको महशुस गरी परन्तु सुरक्षित गराउनका लागि वि.सं. २०२१ सालमा ताम्र पातामा स्वर्ण जलप गरिएको छाना राखी शोभाबृद्धि गरी दिएका थिए। फेरि दुइचार वर्षपछि यस स्वर्ण मोलम्बायुक्त छानालाई सुहाउने किसिमले मिल्ने गरी राम्ररी अझै शोभाबृद्धिका लागि सर्वसंघहरुको श्रद्धाचन्दा तथा श्रमदानमा विहारको चारैतिर झल्लर राखिदिए।
यस झल्लरको भित्र तिब्बती शरणार्थीहरुको एक प्रकारको समवेदना पनि लुकिराखेको पाइन्छ। प्रसंगवश केही कुरा यहाँ प्रस्तुत गर्दैछु तिब्बती बौद्ध भिक्षु मंगोलियन सोपु लामाजुद्वारा आफ्नो गुम्बाका लागि अनेक कलात्मक वस्तु बनाउनका निम्ति लाखौ-लाख धन सहित नेपाल आएका थिए। हुन त कलाविद् कलाकार अरनिकोको जन्मभूमि परम्परादेखि कला केन्द्र स्थान रहेको ललितपुर उकुबाहाःको सर्वसंघ भित्र आई यहीं बसेर वहाँ लामाजुको सदिच्छानुसार अनेक कलात्मक वस्तु तयार गरे। तर अपशोचको कुरा यो छ कि उक्त सरसामान आफ्नो देशमा लानलाई चीन र ल्हासाको बीचमा जुन सांस्कृतिक क्रान्ति भई महान परिवर्तन आयो, सो कारणले गर्दा विविध बाधा अड्चन आई ती सम्पूर्ण सामाग्री रोक्का भए। अनेक प्रकारको विघ्न बाधा सामना गर्नुपर्यो। संयोगवश ती कलात्मक वस्तु आधामोलमा बेची आखिर यताको न उताको हुने गरी जानु पर्यो, आफ्नो सारा जीवन बर्बाद भयो। तथापि वहाँ सोपु लामाजुको दृढ संकल्प अनि शुभ-प्रतिज्ञाका कारण कति हो परिवरर्तन पछि यस विहारमा स्वर्ण फूल चढाए झैं अन्ततः वहाँको सदिच्छा अप्रत्यक्ष रुपमा भएपनि सिद्ध हुन गएको देखिन्छ।
यस पश्चात पाँचौ पटकको जीर्णोद्धार भएको विषयमा संक्षिप्त परिचय यहाँ प्रस्तुत गर्दैछु वि.सं. २०३६ सालमा सर्वसंघहरुको सल्लाहसाहुति अनुसार निर्णय गरी उकुबाहाःको नासः दिगी, भन्सार तथा धर्मागार ब्रतशाला अमोघपास प्रतिष्ठापित गुम्बा आदि ठाउँ-ठाउँमा जीर्ण भएको आवश्यक किसिमले जीर्णोद्धार भयो। यसै बेला धारा तथा शौचालयको पनि व्यवस्था गरिदिएको थियो।
यस जीर्णोद्धार तथा मर्मत कार्यका निम्ति आवश्यक खर्चका लागी सम्पूर्ण आर्थिक सहायता तथा सरसामग्री श्री ५ अधिराजकुमार धीरेन्द्र सरकारको निर्देशन अनुरुप सम्बन्धित निकायबाट प्राप्त भएका थिए। साथै सर्वसंघको श्रमदान पनि प्राप्त भएको थियो।
यस जीर्णोद्धार कार्य वि.सं. २०३८ साल आश्विन २० गते मंगलबारका दिन विधिवत रुपमा भव्य समारोह गरी जीर्णोद्धार कार्य सम्पन्न भएको शुभ उपलक्ष्यमा यस विहारको महत्व तथा गौरवप्रति ध्यानाकर्षण गरी विशेष निगाहपूर्वक राष्ट्रनायक श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट समुद्घाटन भएको थियो। साथै श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव, श्री ५ अधिराजकुमार ज्ञानेन्द्र, श्री ५ अधिराजकुमार धीरेन्द्र तथा प्रधानमन्त्री एवं मन्त्रीगणका साथै कूटनीतिक राजदूतहरु समेत उपस्थित भएका थिए।
यस विहार जीर्णोद्धारका निम्ति प्राप्त भएको आर्थिक सहयोग निम्न प्रकार रहेको छ ।
१)    श्री ५ को सरकारबाट प्राप्त अनुदान          १,२६,०००।००
२)    पद्मराज शाक्यबाट सुवर्णद्वारका निम्ति        २९,०००।००
३)    सर्वसंघबाट चन्दा प्राप्त                     ५५,७५०।५०
४)    विहारको कोषबाट प्राप्त                     ३७,०००।००
५)    जन श्रमदानबाट रकम प्राप्त                 ३६,०००।००
                                                  २,८३,७५०।५०


स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-१२ बाट प्रस्तुत गरिएको।

निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति

व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति 

अनुवादकः तेजेश मान शाक्य

 प्रकाशक






रुद्रवर्ण महाविहार, ओकुबहाल, 
ललितपुर महानगरपालिका - ६ 
प्रदेश ३, नेपाल। 
फोन नं. ५५४८९६१  

© सर्वाधिकार प्रकाशकमा सुरक्षित 

अनलाईन ब्लग प्रकाशन सहयोग

Popular Posts